काठमाडौं– सत्तारुढ गठबन्धनको दल नेकपा (एकीकृत समाजवादी)का 'सम्मानित नेता' झलनाथ खनालले लिपुलेकमा सडक निर्माण/विस्तार गरिरहेको भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले सोमबार एक वक्तव्य जारी गर्दै नेपाली भूमि लिपुलेकमा सडक विस्तार गरिरहेको भन्ने भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिप्रति आफ्नो र पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
'भारत सरकारलाई राम्रोसँग थाहा छ कि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको सार्वभौम क्षेत्र (भूमी) हुन्,' 'नेपाल सरकारसँग कुनै परामर्श नै नगरी उक्त क्षेत्रमा कुनै पनि विकास निर्माणका काम गर्नु पूर्ण रुपमा गैरकानूनी तथा क्षेत्रीय अखण्डता र राष्ट्रिय सार्वभौमिकताको उल्लंघन हो,' खनालले आफ्नो वक्तव्यमा भनेका छन्।
नेता खनालले सीमा क्षेत्रमा आफ्नो देशको भूमिको रक्षाका लागि आवश्यक पहल गर्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
खनालले भनेका छन्, 'हाम्रो भूमिको अखण्ता हनन गरेर भइरहेको सडक निर्माण र भारतीय नेताको भड्काउपूर्ण अभिव्यक्तिको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ। सीमा क्षेत्रमा हाम्रो देशको भूमिको रक्षाका लागि आवश्यक पहल गर्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं।'
नेपालसँग सीमा जोडिएको राज्य उत्तराखण्डको हल्द्वानीमा केही दिन अघि आयोजित एक र्यालीलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले लिपुलेकमा एउटा सडक बनाएको र हाल उक्त सडक विस्तार गर्ने काम चलिरहेको बताएका थिए।
उनको अभिव्यक्तिको विषयमा नेपाल सरकारले भने कुनै धारणा सार्वजनिक गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।