काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सिसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा आइतबार भएको भेटमा उनीहरुबीच नेपाल र सिसेल्सको द्विपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।
वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरु लैजान गणतन्त्र सेसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिए। नेपाली कामदारहरु सिसेल्समा वैदेशिक रोजगारीका लागि पठाउन नेपाल सकारात्मक रहेको बताउँदै मन्त्री श्रेष्ठले द्विपक्षीय श्रम समझदारी (एमओयू) का लागि तयारी अघि बढाइने बताए। सिसेल्स हेर्ने नेपाली राजदूतावास (प्रिटोरिया) दक्षिण अफ्रिकाको रायबमोजिम जेल सुरक्षाका लागिमात्रै नभएर प्रहरी सेवा र निजी क्षेत्रमा हुने रोजगारीसमेतलाई समेटेर द्विपक्षीय श्रम समझदारी अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो।
उनले नेपालबाट वार्षिक कति कामदार लैजाने? कस्तो खालको सीप तालिम आवश्यक पर्दछ? न्यूनतम योग्यता र भाषागत क्षमताका साथै न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधाहरुबारे छलफल गरी द्विपक्षीय श्रम समझदारी (एमओयू) गर्न सकिने बताएका थिए। कामदार छनोट, रोजगारी र स्वदेश फिर्तीलगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुंगो लगाउन उपयुक्त हुने उनको भनाइ थियो।
राजदूत पिल्लेले सिसेल्स सरकार सुरक्षागार्डबाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदारहरु लैजान इच्छुक रहेको बताए। उनले खुला र उदार अर्थव्यवस्था भएको सिसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनुसक्ने बताउँदै सिसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने प्रस्ट पारे। राजदूत पिल्लेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठलाई सिसेल्स भ्रमणको निम्तोसमेत दिएका थिए।
नेपाल र सिसेल्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३४ वर्ष भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।