काठमाडौं- नेकपा एमालेको मनोनित केन्द्रीय सदस्यमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पर्न सफल भएका छन्। चितवनमा सम्पन्न एमाले महाधिवेशनमै केन्द्रीय सदस्य उठ्ने तयारी गरेका प्रसाईंलाई एमालको दोस्रो केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको हो।
प्रसाईं नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरुको कोटामा सिफारिस भएका हुन्। माओवादी केन्द्रबाट रामबहादुर थापा बादलसहित नेताहरुले नौ जना मनोनित कोटा पाएका थिए। उक्त कोटाको चौथो नम्बरको सूचीमा प्रसाईंको नाम अटाएको छ।
प्रसाईं विएण्ड सी मेडिकल कलेजका सञ्चालक हुन्। पहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग निकट रहेका उनी एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपामा अध्यक्ष केपी शर्मा ओलीसँग नजिक भएका थिए।
माओवादी केन्द्रको कोटाबाट केन्द्रीय सदस्य मनोनित हुनेहरुमा चुडादेव सिंह लामा, विषमलाल अधिकारी, शिव लामा, गोविन्द दुवाल, सहदेव वोगटी, वालासिंह काउछा, कृष्ण केसी र चन्द्रबहादुर विश्वकर्मा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।