काठमाडौं- नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा महामन्त्री पदमा ५ जनाले उम्मेदवारी दिएका छन्। शनिबार मनोनयन दर्ताका लागि तोकिएको समयमा पाँच जनाले महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।
शेरबहादुर देउवाले सभापतिको उम्मेदवारी दिँदा प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला गुटबाट प्रदिप पौडेललाई छानेका छन्। त्यस्तै संस्थापनइतर पक्षबाट दुई जनाले सभापतिमा उम्मेदवारी दिँदा तीन जनाले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन्।
शेखर कोइराला प्यानलवाट गगन थापा र मिनेन्द्र रिजालले महामन्त्रीमा उम्मेदवारी दर्ता गराउँदा प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन्।
उपसभापतिमा पनि केही नयाँ र केही पुराना अनुहार देखिएका छन्। देउवा प्यानलमा उपसभापतिमा विजयकुमार गच्छादार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन्।
शेखर कोइराला प्यानलवाट चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापतिमा उम्मेदवारी दिएका छन्। त्यस्तै प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाले उम्मेदवारी दिएकी छन्। त्यस्तै स्वतन्त्र रुपमा महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।