काठमाडौं– राजधानीको भृकुटीमण्डमा सवारी साधनको मेला अर्थात् नाडा अटो शो चलिरहेको छ। मंगलबारदेखि सुरु भएको मेला आइतबारसम्म चल्नेछ। मेलामा नयाँनयाँ सवारी साधन प्रदर्शनीमा राखिएको छ।
मेलामा सहभागी विभिन्न १६ ब्रान्डका चारपांग्रे सवारी कम्पनीमध्ये सबैभन्दा चर्चित छ फोर्डको ‘मुस्ताङ’ कार। उक्त कार मेलामा ‘सेक्सी कार’का रुपमा समेत चिनिएको छ। नेपालको मुस्ताङ म्याक्स जस्तै नाम भएको उक्त कार अमेरिकन कम्पनी फोर्डले उत्पादन गरेको हो।
नेपालमा अहिलेसम्म नभित्रिएको उक्त कार फोर्डले प्रदर्शनीका लागि मात्र ल्याएको हो। प्रदर्शनीमा राखिएको उक्त कार हेर्न मात्र पाइन्छ, छुन पाइँदैन। मेलामा रहेका बाँकी सबै कार तथा सवारी साधन ग्राहक तथा अवलोकनकर्ताले छुन मात्र होइन भित्र बस्न पनि पाउँछन्। तर, फोर्डको मुस्ताङलाई भने हेर्न मात्र पाइन्छ।
किन त? प्रदर्शनीमा रहेका विकास बजगाईंले भने, ‘यो कार प्रदर्शनीमा देखाउन मात्र ल्याइएका कारण छुन नदिइएको हो।’ उनका अनुसार फोर्ड मुस्ताङको तेस्रो जेनेरेसनको यो गाडी भारतबाट प्रदर्शनीमा देखाउनकै लागि मात्र ल्याइएकाले कसैलाई पनि छुन नदिइएको हो।
कम्पनीले उक्त कारलाई बिक्रीका लागि पनि ल्याएको होइन। त्यही भएर कारको अघिल्लो भागमा नै ‘डु नट टच’ भनेर लेखिएको छ। मेलामा रहेका कारमध्ये मुस्ताङ कार सम्भवत सबैभन्दा महँगो हो। यद्यपि यो मोडलको कार नेपालमा कति मूल्य पर्छ भन्ने अहिलेसम्म तोकिएको छैन। तर, भारत लगायतका देशको मूल्यका आधारमा हेर्दा नेपालमा यो कार बिक्रीका लागि खुला भएमा साढे तीन करोड पर्ने अनुमान गरिएको छ।
फोर्डले निकालेको मुस्ताङ कार नयाँ मोडल हो। मेलामा ल्याइएको उक्त कार पाँच हजार सिसी क्षमताको छ। मेलामा छुन नपाए पनि हेर्न आएका धेरै उपभोक्ताले खरिदको इच्छा देखाएपछि कम्पनीले आगामी अक्टोबरबाट नेपालमा बिक्रीका लागि ल्याउने तयारी गरेको छ। कम्पनीका अनुसार भि ८ इन्जिनको उक्त कारमा ८ वटा सिलिन्डर छन् भने टच स्क्रिन, लेदर सिट, एयर ब्यागजस्ता विषेशता पनि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।