काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले, राप्रपा र लोसपाबीच पार्टी एकता गर्न सुझाव दिएका छन्।
सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा भन्दा आफ्नो पार्टीमा जनताको आकर्षण रहेको दाबी गरे।
उनले एमालेभित्र रहेका नेताहरुको 'निल्नु न ओकल्नु' को अवस्थामा रहेको बताउँदै आगामी दिनमा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्ट(लोसपा) एक हुने दाबी गरे।
अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताए। 'एमालेको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने' बताउँदै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको बताए।
उनले गठबन्धनको सरकारमा सहभागि दलका अघि ओलीको केही नलाग्ने ठोकुवा गरे।
‘त्यो जमात अब क्रान्तिकारी रहेन, कम्युनिस्ट चरित्रलाई कायम राख्न सकेन, मार्क्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ। त्यो नारायणी नदीमा बगाइदिसकेको छ’ उनले भने, ‘पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको एमालेको झण्डा अबका दिनमा बाँदरका हातमा सुम्पिएर बोक्ने अवस्था आउने छ, त्यहाँ रहेकाहरुको हरिबिजोग भएको छ, हामी त्यहाँ रहेको भए के हुन्थ्यो, सबैलाई थाहा छ, सच्चिनेवाला कोही छैन त्यहाँ भनेर।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।