काठमाडौं- आसन्न १४ औं महाधिवेशनमा सभापतिमा साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेस संस्थापनइतरको बैठक बसिरहेको छ।
सभापतिका आकांक्षीसमेत रहेका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बसिरहेको हो। करिब तीन घण्टादेखि जारी बैठकले साझा उम्मेदवार तय गर्ने प्रयास गरिरहेको छ।
बैठकमा सहभागी नेता गगन थापाले सञ्चारकर्मीहरुसँग बैठक लम्ब्याएर भएपनि आजै टुंगो लगाउने प्रयास जारी रहेको बताए। उनले सभापतिका आकांक्षी चार जनालाई छुट्टै बस्न सुझाव दिएको जानकारी दिए।
भित्र नेताहरु छलफल गरिरहँदा बाहिर भने कार्यकर्ताले साझा उम्मेदवार चयनका लागि दबाब दिँदै प्लेकार्ड प्रदर्शन गरेका छन्। उनीहरुले साझा उम्मेदवार आजै टुंग्याउन आग्रह गर्दै प्ले कार्ड प्रदर्शन गरेका हुन्।
उनीहरुले 'साझा उम्मेदवारको विकल्प छैन', 'अहिले नमिले कहिले मिल्ने' लगायत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका छन्।
नेताहरुलाई दबाब दिन चाक्सीबारी पुगेका कांग्रेस कार्यकर्ता राजेन्द्र बजगाईंले एक जना साझा उम्मेदवार आजै गर्नुपर्छ भन्नका लागि आफूहरुले दबाब दिएको बताए।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, महेश आचार्य लगायतका नेता सहभागी छन्। यसअघि सोमबार साँझ पौडेल निवास बोहराटारमा बसेको शीर्ष नेताको बैठकले आफ्नो पक्षबाट साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।