काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तत्काल सर्वोच्च अदालतको नेतृत्वबाट बहिर्गमन हुनुपर्ने नेपाल बार एसोसिएसनको आन्दोलनको पक्षमा आफू रहेको बताएका छन्।
मंगलबार बारका पदाधिकारीसँगको भेटमा अध्यक्ष प्रचण्डले करिब एक महिनासम्म बार र सर्वोच्च अदालतका न्यायाधीशहरुको आन्दोलनलाई आफूले सुक्ष्मरुपमा हेरिरहेको भन्दै अदालत भित्रैबाट निकास आउँछ कि भनेर पर्खिएको बताए।
‘म पनि बार र आन्दोलनरत न्यायाधीशहरुको पक्षमै हो। यत्रो प्रश्न उठेपछि नैतिकताको आधार देखाउँदै प्रधानन्यायाधीश राणा बर्हिगमन हुनुपर्छ’ प्रचण्डलाई उदृत गर्दै बारका एक पदाधिकारीले भने, 'सर्वोच्च अदालत भनेको सम्मानको स्थान र जनताको आस्थाको थलोमा बस्ने नैतिकता गुमाएर बस्न मिल्दैन।’
बारका पदाधिकारीले प्रधानन्यायाधीश राणामाथि १७ आरोप लगाउँदै दलहरुले आफ्नो संवैधानिक दायित्व पूरा गर्न भन्दै ध्यानाकर्षण बुझाएका छन्। नेपाल बारका अध्यक्ष ,पूर्व अध्यक्ष , नेपाल बारका पदाधिकारी र सर्वोच्च बारका पदाधिकारीले राजनीतिक दलहरुसँग विवादित प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर हटाउन र सर्वोच्चलाई मुद्दा सुनुवाइको वातावरण बनाउन आग्रह गरेका थिए।
अध्यक्ष प्रचण्डले राणाको विषय अब गम्भीर रुपमा सत्ता गठवन्धन भित्र छलफल गर्ने वचन बारका पदाधिकारीलाई दिएको सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले बताए। त्यस्तै महाअभियोग र संसद सुचारु गर्ने कुरामा अहिले सभामुख अग्नि सापकोटा देश बाहिर रहेको र उनी फर्केपछि यस विषयमा आफूले कुरा गर्ने उनले बताए।
सर्वोच्चको विवाद मिलाउन आवश्यक परे सत्ता गठबन्धनले महाभियोगकै प्रयोग गर्न परे पनि साझा धारणा बनाएर अघि बढ्ने र त्यसका लागि माओवादी केन्द्रले पहल लिने उनले बताएको घिमिरेले जानकारी दिए।
राणाले अदालतभित्र बसेर राजनीतिक लाभको पद माग्नेदेखि गलत फैसला गर्ने र न्यायीक विचलन हुने कार्य गरेको भन्दै बारका पदाधिकारीले उनलाई हटाउनका लागि महाअभियोग संवैधानिक प्रक्रिया भएकाले दलहरु आफ्नो दायित्वबाट पछि हट्न नहुने अध्यक्ष प्रचण्डसँग धारणा राखेका थिए।
बारले केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ध्यानाकर्षण पत्र बुझाएको थियो। बार र न्यायाधीशहरुको आन्दोलन चलिरहँदा आजदेखि गोलाप्रथाद्वारा पेसी तोकिएको थियो। तर, प्रधानन्यायाधीश राणाले आफू कोभिड-१९ भएर अस्पताल भर्ना हुँदा समेत कामुको जिम्मेबारी नदिएपछि आज मुद्दाहरु सुनुवाइ प्रभावित भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।