काठमाडौं- बागमती प्रदेशमा विकास निर्माणका लागि विनियोजन गरिएको बजेट समयमा नै खर्च गर्न नसक्ने प्रवृत्तिका कारण अपेक्षित लाभ प्राप्त हुन नसकेको पाइएको छ।
पुँजीगत खर्च हुन नसक्ने नेपालको पुरानै प्रवृत्ति भए पनि सङ्घीय राजधानी रहेको यस प्रदेशमा साधन र स्रोतका हिसाबले सहज भए पनि अपेक्षित लाभ प्राप्त हुन सकेको छैन।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन २०७७/७८ को वार्षिक प्रतिवेदनमा पुँजीगत खर्च बढाइ आयोजना निर्धारित समय र लागतमा सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ।
निर्माणाधीन आयोजनालाई निर्धारित समय र लागतमा गुणस्तरसहित सम्पन्न गरी आर्थिक रुपले सम्भाव्य बनाउनु जरुरी रहेको केन्द्रीय बैंकको अध्ययनमा भनिएको छ। गत असारमा गएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजना पुनःसञ्चालनमा ल्याउनु चुनौतीको विषय रहेको भन्दै अध्ययनमा समस्याको निकारण गर्न सम्बद्ध निकायले ध्यान दिनुपर्नेमा जोड दिइएको छ।
अध्ययनमा भनिएको छ, 'सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढीपहिरोबाट घरलगायत अन्य भौतिक संरचनामा क्षति पुगेको कारण त्यसको पुनःनिर्माण गर्नु चुनौतीपूर्ण छ।' पूर्वाधार आयोजनाको योजना निर्माण, सोको कार्यान्वयन र लाभ बाँडफाँटजस्ता सवालमा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्नु जरुरी देखिएको जनाइएको छ। मुआब्जा, जग्गा अधिग्रहण, राइट अफ वे, पुनर्वास आदि परियोजनाका पूर्वतयारीसँग सम्बन्धित विषयहरू सम्बोधन गरी स्थानीय अवरोध हटाउनुपर्नेमा जोड दिइएको छ।
पूर्वाधार परियोजनालाई समयमा नै सम्पन्न गर्न प्रभावकारी नियन्त्रण तथा अनुगमन गर्नु र परियोजनाका अधिकारीलाई आयोजनाको कार्यान्वयन प्रगतिप्रति जवाफदेही बनाउनु जरुरी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। सम्पन्न भइ प्रयोगमा रहेका पूर्वाधार आयोजनाको गुणस्तर कायम राख्न यस्ता आयोजनाको मर्मतसम्भार योजना बनाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै अध्ययनले आवश्यक कामदार र विशेषज्ञको उपलब्धता सुनिश्चित गर्न सुझाव दिएको छ।
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कका आधारमा प्रदेशको समग्र आर्थिक अवस्था तुलना गर्दा आव २०७७/७८ मा मुलुकको कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३७.७ प्रतिशत रहन पुगेको छ। कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम चार प्रतिशतमा सीमित छ। बृहत् आर्थिक वर्गीकरणअनुसार कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को हिस्सा सबैभन्दा धेरै २१.५ प्रतिशत छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ५.२ प्रतिशतमात्रै छ।
औद्योगिक उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६ प्रतिशत रहँदा कर्णाली प्रदेशमात्रै ०.९ प्रतिशतमा सीमित छ। यसैगरी थोक तथा खुद्रा व्यापार, मोटर गाडी तथा मोटरसाइकल मर्मत, यातायात तथा भण्डारण, घरजग्गा कारोबार र वित्तीय मध्यस्थता जस्ता सेवा क्षेत्रमा बागमती प्रदेशको हिस्सा ५६.५ प्रतिशत छ।
आव २०७७/७८ मा ११ हजार ८३३ थप रोजगारी प्रदान गर्ने उद्देश्यले एक खर्ब ५६ अर्ब ६० करोड रुपैयाँ बराबरको पुँजी लगानी हुने गरी २०३ नयाँ उद्योग दर्ता भएका छन्। त्यसमध्ये ४३.८ प्रतिशत उद्योग बागमती प्रदेशमा दर्ता भएका छन्। कर्णाली प्रदेशमा भने नयाँ उद्योग दर्ता भएको देखिँदैन।
कूल रोजगारीमध्ये ४०.७ प्रतिशत बागमती प्रदेशमा रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१ प्रतिशत रहेको छ। अर्बौंको क्षति पुग्ने गरी सिन्धुपाल्चोकमा आएको बाढीले हेलम्बु, ग्यालथुम, तालामारङ, मेलम्ची बजार क्षेत्रका वन, पुल, बाटो, पार्क, होटल, रिसोर्टलगायतको भौतिक संरचनामा क्षति पुग्न गएको छ। विपद्ले खेतीयोग्य जमिन, मेलम्ची खानेपानी आयोजना, पशुपालन, माछापालन तथा अन्य व्यवसायमासमेत नराम्ररी क्षति पुर्याएकाले यथास्थितिमा फर्काउनु चुनौतीपूर्ण रहेको अध्ययनले स्पष्ट पारेको छ।
उपत्यका तथा आसपासका सहरमा सडक मर्मत, ढल व्यवस्थापन, प्रदूषण नियन्त्रण, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास, ट्राफिक व्यवस्थापन र पहाडी इलाकामा बाढीपहिरो लगायतका समस्या समाधान गर्नु अर्को चुनौतीको विषय रहेको देखिएको छ।
कृषिभूमि मासियो
बढ्दो सहरीकरणका कारण यस प्रदेशको कृषियोग्य भूमि मासिँदै गएको पाइएको छ। जनसङ्ख्या धेरै रहेको तथा अव्यवस्थित सहरीकरणका कारण कृषिभूमिमा चाप परेको अध्ययनले स्पष्ट पारेको छ। मासिँदै गइरहेको कृषि भू-क्षेत्रलाई संरक्षण गरी व्यावसायिक कृषि उत्पादनलाई प्रवर्द्धन गर्नु र बाँझो जमिनलाई सदुपयोग गर्ने विषय चुनौतीपूर्ण रहेको अध्ययनले देखाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नियमित मर्मतसम्भार र व्यवस्थापन गरी सुविधायुक्त बनाउने तथा बुटिक एयरपोर्टका रूपमा विमानस्थललाई व्यवस्थित पार्नुपर्नेमा जोड दिइएको छ। अन्तर्राष्ट्रिय व्यापारमा दोस्रो ठूलो मुलुकका रुपमा रहेको चीनतर्फको नाकामा पारवहनमा समस्या परेको, भूकम्पपश्चात् तातोपानी नाकामा बेलाबेलामा समस्या देखिने गरेकाले रसुवागढी नाकाबाट व्यापार वृद्धि भए पनि नुवाकोटदेखि रसुवासम्मको सडक सुविधायुक्त नहुँदा थप समस्या पैदा भएको छ। कोभिडको कारण बेलाबेला नाका बन्द हुनुलगायतका कारण चीनबाट सामान ल्याउन अत्यधिक समय लाग्ने गरेको छ।
आव २०७७/७८ मा यस प्रदेशमा समग्र कृषिबालीले ढाकेको क्षेत्रफल ०.५ प्रतिशतले बढेको छ। गत वर्ष यस्तो क्षेत्रफल २.४ प्रतिशतले बढेको थियो। आव २०७७/७८ मा यस प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कूल क्षेत्रफल ०.२ प्रतिशतले घटेको छ भने गत वर्ष यस्तो क्षेत्रफल २.१ प्रतिशतले बढेको थियो।
यस्तै धान बालीले ढाकेको क्षेत्रफल २.३ प्रतिशत, कोदो बालीको १.७ प्रतिशत, फापर बालीको २१.४ प्रतिशत, भटमास बालीको २.८ प्रतिशत र दलहन बालीले ढाकेको क्षेत्रफल १.६ प्रतिशतले बढेको छ। मकै बालीले ढाकेको क्षेत्रफल २.७ प्रतिशत, गहुँ बालीको ०.५ प्रतिशत, जौं बालीले ढाकेको क्षेत्रफल ११.७ प्रतिशत, उखु बालीको ८.६ प्रतिशत र तेलहन बालीको ०.९ प्रतिशतले घटेको अध्ययनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।