काठमाडौं– उनलाई आफ्नो सामुन्ने रहेका सबै हाँसिरहेको जस्तो लाग्छ। विवाहको दोस्रो दिन श्रीमानसँगै टिका थाप्दै बसेकी उनका सामुन्ने रहेका सबैले उनलाई खिस्सी गरेझैं महसुस हुन्छ उनलाई।
एक युवती विवाहपछि आफ्नो श्रीमानको घर पुगेकी छिन्। विवाहको पछि नौलो घर, नौलो परिवेशमा पुगेकी उनी मौन छिन्। उनका विवाहको पहिलो रातका लागि नन्दले कोठा सजाइदिएको जानकारी दिन्छिन्। तर, उनको मुहारमा न कुनै उत्साह छ न कुनै उमंग।
उनीसँग उनको श्रीमानले बोल्छन्, सासुले बोल्छिन्। तर, उनी आफू मौन हुन्छिन्। श्रीमानकी बहिनी आएर उनलाई सहयोग गर्दा पनि उनी चुपचाप नै बसिरहेकी हुन्छिन्।
अन्योल ग्रस्त मनस्थितिमा रहेकी दुलहीले विवाहको दोस्रो दिन घरमा टिका लगाउने कार्यक्रम हुन्छ। गाउँभरका मानिस, आफन्तजनहरु आएर उनलाई टिका लगाउँछन्। तर, उनमा न विवाह गरेकोमा उत्साह छ, न विरह नै। उनको अनुहारमा बेग्लै किसिमको विरह टांगिएको छ। त्यसबखत उनी आफू सामुन्ने रहेका सबैले आफ्नै मजाक उडाइरहेको कल्पना गर्छिन्।
वैवाहिक समारोहपछि आफ्नो कोठामा फर्किएकी ती युवती बनेकी दुलहीको दुनियाँ बेग्लै छ। आफ्नो कोठामा नन्दसँग नजिक हुनथाल्छिन्। तर, त्यो निकटता फगत उनको कल्पना मात्रै हुन्छ। वास्तवमा उनी आफू महिलाकै रुपमा आफ्नो नव विवाहित श्रीमानसँग विस्तरामा पल्टिएकी हुन्छिन्।
मानव अधिकार फिलम् महोसत्वमा प्रदर्शन भइरहेको ४२ स्वदेशी तथा विदेशी फिल्ममध्येको एकको कथा हो यो। अशुका अर्यालको लेखन, निर्देशन तथा निर्माणमा बनेको फिल्म ‘संकुल (कन्फ्युजन)’मा एक फरक यौनिकता भएकी युवतीको कथा देखाइएको छ।
फिल्मको नामजस्तै ‘कन्फ्युजन’मा बाँचिरहेकी उनी आफ्नो यौनिकताको विषयलाई लिएर भएको समस्यालाई फिल्ममा देखाइएको छ। आफ्नो यौनिकताको परिचय खुलाउन नसक्दाको अवस्थालाई फिल्ममा चित्रण गरिएको छ। एक युवती जो आफ्नो यौनिकतालाई प्रस्तुत गर्न सक्दिनन्, बाध्य भई पुरुषसँग विवाह गर्दाको असहज र असमान्य क्षणलाई फिल्ममा देखाइएको छ। १३ मिनेटको फिल्ममा समाजको रीति र परम्पराअन्तर्गत रहेर दुर्गममा आफ्नो यौनिकताको परिचय दिन नसक्दा एक युवतीले आफ्नै परिचय गुमाउनु परेको अवस्थालाई चित्रण गरिएको छ।
मंसिर ७ गतेबाट सुरु भएको महोत्सवमा संकुलजस्तै अन्य थुप्रै फिल्महरुको प्रदर्शन भएको थियो। नेपालसँगै विश्वभरबाट प्रदर्शनका लागि छानिएका फिल्महरु मंसिर ७ देखि ९ गतेसम्म मुभिजडटकम नामक वेबसाइटबाट भर्चुअल रुपमा प्रदर्शन गरिएको थियो।
महोत्सवमा प्रदर्शन भएको सरिता शाहको निर्देशनमा बनेको फिल्म ‘फगुनिया’मा मधेशी समाजमा एक बालिकाको बलात्कारपछिको घटनालाई देखाइएको छ। निर्देशक सरितासँगै फिल्ममा जानवी गुप्ता, मदन ठाकुर, प्रदिप सिंह, धिरज ठाकुर र सुजिता शाहको अभिनय रहेको छ।
गाउँमा सांस्कृतिक कार्यक्रममा आमा गएको बखत आफ्नो घरमा एक्लै रहेकी बालिकाको बलात्कार हुन्छ। तर, त्यो हिंसाको कारण उनकी आमालाई बनाइन्छ। घरमा नबसेर लापरबाही गरेको भन्दै उनीमाथि नै छोरीसँग भएको त्यो दुस्कर्मको आरोप थोपरिन्छ। जो त्यो अपराधमा संलग्न छ, उसलाई सार्वजनिक गर्दा इज्जत जाने भन्दै परिवारले नै त्यो घटनालाई लुकाउन खोज्छ।
यो फिल्ममा बलात्कारलाई चित्रण गरिने चलनलाई प्रस्तुत गर्नुका साथै एक आमाले न्यायका लागि परिवारदेखि सामाजसम्म लडेको कथालाई देखाइएको छ। आफ्नी छोरीमाथि भएको हिंसा र त्यसपछिको उसको नाजुक अवस्थाबीच आफ्नो परिवार आफू विपरित हुँदा उनले कसरी न्यायका लागि परिवारको विपरितमा गएकी छिन् भन्ने कथा फिल्ममा देखाइएको छ। नेपालको तराई मूलमा छोरीलाई गरिने व्यवहारको संकेत पनि फिल्ममा देखिन्छ।
लघु चलचित्र भएकाले फिल्म केही अपुरो लाग्न सक्छ। तर, थोरै समयमा गम्भिर र ठूलो कथा भन्नमा सरिताको ‘फगुनिया’ अवश्य पनि सफल देखिन्छ।महोत्सवमा प्रदर्शित ‘ललिता’ वृतचित्रमा एक यौनकर्मीको कथालाई देखाइएको छ। दुई दशक उमेर पुरा गरेकी एक यौनकर्मीका आफ्ना अनुभवदेखि उनले देखेका सपनाहरुलाई यो वृतभित्रमा प्रस्तुत गरिएको छ।
‘न्यारेसन’को शैलीमा खिचिएको यो फिल्ममा काठमाडौं वरपरका क्षेत्रका दृश्यहरु छन्। चलचित्रमा पात्रको अनुहार देखाइदैंन्, उसको बारेमा व्यक्तिगत कुराहरु भनिँदैन्। तर, उसका सपनाहरु भनिन्छ। यो पेशामा लाग्दा आफूले भोगेका पीडाहरुदेखि आफूले देखेको सपना, आफ्नो दैनिकीसम्ममा दर्शकले आफूलाई रिलेट गर्न सक्छन्। उज्यालो शहरको अँध्यारो यर्थाथजस्तै उनले यौन पेशाभित्रको यर्थाथ बारे बताएकी छिन् ‘ललिता’मा।
ललितामा यौनकर्मीको कथा देखाइएजस्तै महोत्सवमा प्रदर्शन भएको अर्को लघु चलचित्र कन्फेट्टीमा एक योनकर्मीकी छोरीे अनुभव गर्ने कुराहरुलाई देखाइएको छ। आफ्नो बुबा १ सय ३० वर्षका लागि जेल परेपछि आमाले जीवन चलाउन यौन पेशा सुरु गरेकी हुन्छिन्। तर, त्यसबाट आफ्नै छोरीलाई कुन किसिमको असर भइरहेको छ भन्ने उनले ख्याल गर्दिनन्।
आफ्नो साथीसँग हुँदा ती बालिका खुल्छिन्। आमाका ग्राहकहरु आउँदा उनी डराएको कुरा बताउँछिन्। ढोकाको चुक्कु खोल्दादेखि कतै चेन खुलेको आवाज सुन्दा पनि उनी डराएकी हुन्छिन्। त्यो मात्र नभएर आफूमाथि आमाका ग्राहकहरुको कुनै नजर नपुगोस भन्न उनले खान छाडेको बताउँछिन्। भन्छिन्, ‘मेरो छाती बढ्छ भनेर मैले खान छाडिदिएँ।’
बाल मनोविज्ञानको पक्षबाट निकै उत्कृष्ट छ यो फिल्म। आमा ग्राहकसँग हुँदा आफू बाल्कोनीमा बसेर पढिरहने ती बालिका बुबालाइ जेलमा भेट्न जाँदासम्मका कथनहरुले बालबालिका मनमा के चलिरहन्छ भन्ने प्रस्तुत गरेको छ।
बिहीबारसम्म चलेको महोत्सवमा गत सोमबारदेखि नै फिल्म प्रदर्शन सुरु भएको थियो। महोत्सवमा लघु चलचित्रदेखि वृत चित्र, फिचर फिल्म गायतका फिल्महरु प्रदर्शन भएका थिए।
नवौं संस्करणमा प्रदर्शन भएकामध्ये तीन विधाका तीन फिल्महरुले उत्कृष्ट भएर पुरस्कार पनि पाएका छन्। यसमा राजेश प्रसाद खत्रीको ‘जुलुंगो’, मिरा खड्का र ज्योति बेलबासेको ‘नो स्कुल टुडे’ र एन्जिला चौधरी र पुष्पा जोशीको ‘ललिता’ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।