काठमाडौं– नेपाल बार एसोसिएसनको नेतृत्वमा सातवटा नागरिक संस्था र बृहत् नागरिक आन्दोलनको मार्चपास यतिबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ अघि बढिरहेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतको गेटबाट बिहीबार दिउँसो २ बजे बालुवाटारसम्म बारको नेतृत्वमा मार्चपास भइरहेको हो।
मार्चपासमा सहभागीहरुले प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरिरहेका छन्। 'भ्रष्टाचारी प्रधानन्यायाधीश राजीनामा दे, गुण्डाको नाइके राजीनामा दे' लगायतको नारा लगाउँदै टोली बालुवाटार तर्फ गइरहेको छ।
प्रधानन्यायाधीश राणाको राजीनामाका लागि दबाब र राजनीतिक दलहरुका लागि महाअभियोग दर्ता गर्न दबाब दिने उद्देश्यले मार्चपास गर्दै ज्ञापनपत्रसम्म बुझाउने बारले जनाएको छ।
बिचौलियाराजको विरोधमा जवाफदेही लोकतन्त्रका निम्ति भन्दै नेपाल बार एसोसिएनस, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनको संयुक्त आह्वानमा मार्चपास हुन लागेको हो। कात्तिक ८ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सुरु भएको आन्दोलन अहिले एक महिना पूरा गरेको छ।
यो अवधिमा बारले कालोपट्टी बाँधेर धर्ना दिनेदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्न मूलगेटमा धर्ना दिनेसम्मको अभियान चलाएको छ।
तेस्रो चरणको आन्दोलनको अन्तिमतिर हुँदा बारले बुधबार देशभरका उच्च अदालतमा आन्दोलन गरेको छ।
बारले त्यसअघि पनि सर्वोच्च परिसरमा १० बजेदेखि १२ बजेसम्म धर्ना दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।