काठमाडौं- नेपाल बार एसोसिएनले सर्वोच्च अदालतमा गोलाप्रथा लागू भएपछि एकल इजलासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गोला तान्न नमिल्ने र संयुक्त इजलासमा राणासँग कोही न्यायाधीशले वेञ्च सेयर गरे बहिष्कार गर्ने चेतावनी दिएको छ।
सर्वोच्चमा १५ गतेदेखि गोला प्रथामार्फत इजलास तोक्ने तयारी गरिएको छ। त्यसका लागि आजै अपराह्न फुलकोर्ट बस्दै छ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरुसँगको छलफलका क्रममा नेपाल बारले आफूहरु राणाको राजीनामाको मागमा अडिग रहेको बताउँदै उनले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने अडान राखेको थियो।
न्यायाधीशहरुसँगको बैठकमा बारले ७७ जिल्लाका कानुन व्यवसायी एक ठाउँमा भएकाले राणाले राजीनामा दिनुको विकल्प नभएको र आफूहरु उक्त मागबाट पछि नहट्ने बताएका थिए। छलफलका क्रममा न्यायाधीशहरुले आफूहरु एकै ठाउँमा रहेको बताएका थिए।
'प्रधानन्यायाधीश बाहेकका न्यायाधिशहरुले हामी एक छौं भन्नुभएको छ। राजीनामा आएकै दिनबाट हरिकृष्ण कार्कीको प्रतिवेदन लागू हुन पर्छ,' न्यायाधीशहरुसँगको छलफलबारे बारका एक पदाधिकारीले भने, 'न्याय किनबेच हटाउन आन्दोलन हो। अटोमेशन लागू नभएसम्म गोला गर्ने कुरा हामीले उठाए अनुसार नियमावली बनेको छ।'
छलफलमा न्यायाधीशहरुले अदालतलाई विचौलियामुक्त बनाउन प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आफूहरु पनि आन्दोलनमा रहेको बताएका थिए। संवैधानिक इजलासको गतिरोध फुकाउन सुझाव दिँदै आजको छलफलको सन्देश मुख्य रजिष्ट्रारले प्रधानन्यायाधीश दिने जिम्मा दिइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।