काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएका कारण बजारमा तरलताको अभाव भयो भन्नुमा सत्यता नभएको बताएका छन्।
गभर्नर अधिकारीले हामीले अहिले बजारमा भइरहेको तरलताको विषयमा सीसीडी र तरलतालाई तुलना गर्न नहुने बताए। उनले तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकोले पनि समस्या देखिएको बताए।
'अहिले कार्यान्वयनमा ल्याइएको सीडी रेसियोसम्बन्धी व्यवस्थाले तत्कालका लागि केही असहज मानेका छन्, अहिले केहीलाई असहज भए पनि अधिकांश प्रणालीका लागि राम्रो हो। हामीले नीतिकै माध्यमबाट प्रणाली बचाउने हो, अहिले पनि बचाएका छौं, यसलाई सबैले बुझ्न आवश्यक छ,' नेपाल आर्थिक पत्रकार संघले बुधबार आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले भने, 'सीसीडी रेसियोले केहीलाई समस्या परे पनि सम्पूर्ण प्रणालीका लागि राम्रो छ, समग्र आर्थिक प्रणाली जोगाउन राष्ट्र बैंकले सक्दो प्रयास गरिरहेको छ, अहिले तरलताको समस्या देखिएको छ। यसको समाधानका लागि राष्ट्र बैंकले प्रयास गरिएको छ।’
गभर्नर अधिकारीले विश्व अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको बताए। उनले नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो रिकभरी भएको बताए। 'अहिले समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप पर्दै गइरहेको छ। यसरी चाप गर्दा मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान गरिएको छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।