काठमाडौं- गरिमा विकास बैंकले मंसिर १६ गतेदेखि १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ दरको १० लाख कित्ता ‘८.७५ प्रतिशत गरिमा विकास बैंक डिबेन्चर २०८५’ जारी गर्न लागेको हो।
यसमध्ये ४ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन्। सर्वसाधारणलाई छुट्याएको मध्येबाट २० हजार कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ। बाँकी ६ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ।
यो सात वर्षे बन्दमुखी योजना हो। यस ऋणपत्रमा न्यूनतम २५ देखि १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। यसमा मंसिर २० गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समयमा सबै इकाई बिक्री नभएमा पुस १ गतेसम्म आवेदन खुला रहने छ।
ऋणपत्रको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
गरिमाको यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले गरिमा विकास बैंकको ऋणपत्रलाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ।
जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ। साथै, यस संस्थामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ। यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।