काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनलाई आउने चुनावसम्म लैजाने बाटो 'क्लियर' भएको बताएका छन्। बुधबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रिय सभमा मिलेर चुनाव लड्ने भनेर नीतिगत र व्यवहारिक निर्णय गरिसकेको बताए। प्रतिनिधि सभा र प्रदेश सभाको उपचुनाव हुने भयो भने त्यसमा पनि मिलेर जाने उनले बताए।
'यो चुनावको परिस्थिति हेरिसकेपछि आउने संघीय, प्रादेशिक र स्थानीय चुनावमा समझदारी बनाएरै भन्नेतिर गएको छ। मानिसहरुले गठबन्धन टिक्दैन वा चल्दैन भनेर भ्रम फैलाउने कुराको अहिले करिबकरिब अन्त्य भएको छ,' उनले भने।
कांग्रेसका नेताहरुले आगामी महाधिवेशनमा भोट पाउने आशामा गठबन्धन टिक्छ र टिक्दैन भनिरहेको प्रचण्डको भनाइ छ। 'कोही कोहीलाई के लाग्छ भने महाधिवेशन आएको छ। कसैलाई गठबन्धन बलियो बनाएर जाने भन्यो भने महाधिवेशनमा भोट धेरै आउँछ भन्ने लागेको छ। कसैलाई गठबन्धनको विरोध गर्यो भने भोट धेरै आउँछ भन्ने लागेको छ,' उनको भनाइ छ।
बाहिर जे भने पनि गठबन्धन चाहिन्छ भन्ने भित्र सबैको एउटै मत रहेको बताए। 'गठबन्धनले मजाले मन्त्री, प्रधानमन्त्री बन्न पाइएको छ। सरकार चलाउन पाइएको छ। अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ र? कहीँ कतै मिल्ने कुरै होइन नि,' उनले भने।
प्रचण्डले पाँच दलीय समन्वय समिति भनेर उच्चस्तरमा एउटा समिति बनाएको बताउँदै त्यो पार्टीहरुको बीचको संयन्त्र मात्रै भएको बताए। 'सरकारलाई निर्देशन दिने वा सरकारभन्दा माथि भनेर कतिपयले भन्छन्, त्यस्तो विल्कुल होइन। दुनियाँमा पनि यस्तो संयन्त्र बनाइन्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।