काठमाडौं- गैरआवासीय नेपाली संघका विघटित कार्यसमितिका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले संघमाथि नांगो हस्तक्षेप गरेको प्रतिक्रिया दिएका छन्।
परराष्ट्र मन्त्रालयले पन्त कार्यसमितिलाई भंग गरि संरक्षक परिषद्लाई निर्वाचनको अधिकार दिएको छ। परराष्ट्र मन्त्रालयको उक्त कदमप्रति आपत्ति जनाउँदै पन्तले प्रतिवादमा उत्रन आव्हान गरेका छन्।
वर्तमान कार्यसमितिको अवधि बढाउने विधानमा व्यवस्था नभएको ठहर गर्दै पन्तको कार्यसमिति भंग गर्ने निचोडमा परराष्ट्र मन्त्रालय पुगेको छ। मन्त्रालयको उक्त कदमप्रति प्रारम्भिक प्रतिक्रिया दिँदै पन्तले भने, ‘परराष्ट्र मन्त्रालयको नांगो र अन्यायपूर्ण हस्तक्षेपको सशक्त्त प्रतिवाद गरौं।’
एनआरएनएको १८ वर्षे इतिहासमा पहिलोपटक कार्यसमिति भंग गरिएको हो। विश्व सम्मेलनमा भाग लिने प्रतिनिधिका सन्दर्भमा विवाद भएपछि संघमा दुई कित्ता स्पष्ट देखिएको थियो। अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले परराष्ट्रमा उजुरी दिएपछि विवाद लम्बिँदै गएको थियो।
डिसेम्बर १५ मा निर्वाचन गर्ने कार्यतालिका वर्तमान कार्यसमितिले सार्वजनिक गरेको थियो। तर, आचार्य पक्षधरले पन्त कार्यसमिति कामचलाउ भएकाले विश्व सम्मेलन गर्ने आधार नरहेको दाबी गरेको थियो।
परराष्ट्रको पछिल्लो कदमले पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा रहेको संरक्षक परिषद्ले अब विश्व सम्मेलन गराउनुपर्नेछ। पन्त नेतृत्वको कार्यसमितिले विश्व सम्मेलनको अधिकार आफूमा हुनुपर्ने जिकिर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।