काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पीसीएल नर्सिङको भर्ना तीनदिन भित्र खुलाउने भएको छ।
शिक्षा मन्त्रालयमा आइतबार बसेको बैठकले सीटीईभीटीको पीसीएल नर्सिङ अध्ययनको भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
शिक्षामन्त्री देवेन्द्र पौडेलसहित सीटीईभीटीका पदाधिकारी, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, शिक्षा मन्त्रालयका कर्मचारीहरुसहितको बैठकले भर्नाका लागि सूचना निकाल्ने निर्णय गरेको सीटीईभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले जानकारी दिए।
उनले भने, ‘अबको तीनदिन भित्रमा भर्ना खुल्छ। आयोगको ऐनमा भएको व्यवस्था अनुसार १०० शय्या (बेड)का आफ्नै अस्पताल भएका नर्सिङ कलेजहरु जति छन् त्यति नै कलेजका लागि भर्ना खुल्छ।’
आइतबार भएको छलफलमा सीटीईभीटीका केही पदाधिकारीले कोभिड महामारीलाई कारण देखाउँदै सबै कलेजहरुले भर्ना पाउनुपर्ने मागसमेत गरेका थिए।
तर, आयोगको ऐन विपरित १०० वेडको अस्पताल नभएका नर्सिङ कलेजलाई भर्ना गर्न नमिल्ने मत राखेका थिए।
हाल आयोगको मापदण्ड पूरा गरेका नर्सिङ कलेज २४ वटा रहेको छ। २४ वटा कलेजहरुमध्ये १७ वटा निजी कलेज छन् भने ७ वटा सीटीईभीटीका आंगिक क्याम्पस रहेका छन्।
सीटीईभीटी अन्तर्गतका अन्य विषयको भर्ना प्रक्रिया धेरै अगाडि सुरु भए पनि नर्सिङको भने लामो समयदेखि रोकिएको छ। सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीसहित अन्य केही पदाधिकारी ऐन विपरित १०० शय्या बेड नभएका कलेजलाई पनि भर्ना दिनुपर्ने अडानमा रहेका थिए।
उपाध्यक्ष अधिकारी निजी नर्सिङ कलेज निकट हुन्। उनको कलेजले चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पूरा गरेको छैन। सोही कारण उनी आफ्नासहित अन्य मापदण्ड पूरा नभएका कलेजका पक्षमा उभिएका हुन्।
कात्तिक १७ गते शिक्षामन्त्रीकै अध्यक्षतामा बसेको परिषद्को बैठकले भर्ना खुलाउने निर्णय गरेपनि उपाध्यक्ष अधिकारीकै अडानका कारण भर्ना खुल्न सकेको थिएन।
नर्सिङ भर्नाका विषयमा सर्वत्र आलोचना र चासो हुनुका साथै उपाध्यक्ष अधिकारीको स्वार्थका विषयमा समाचारहरु बाहिर आउन थालेपछि आइतबार मन्त्रालयमा बैठक बसेको हो। बैठकले मापदण्ड पूरा भएका कलेजमा तत्कालै भर्ना खुलाउने निर्णय गरेपछि यसपटक भने उपाध्यक्ष पछि हटेको छलफलमा सहभागी एक सदस्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।