काठमाडौं- नदीको कटान नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य तत्काल थालिने भएको छ।
नदीले निकै स्थानमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो। सो विषय अध्ययनका लागि नेपाल-भारत दुई देशीय उच्चपदस्थ पदाधिकारीको टोलीले फिल्ड भिजिटको कामसमेत सकेको छ।
टोलीमा नेपाली पक्षबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभागका प्रवक्तासमेत रहेका उपमहानिर्देशक कृष्णप्रसाद नेपाल लगायतको सहभागिता थियो। उच्चपदस्थ टोलीमा सहभागी नेपालले भने, 'अर्को बाढीभन्दा पहिले गर्नुपर्ने काम आइडेन्टिफाइ (पहिचान) गर्नुपर्ने, अनि तिनीहरुलाई गर्नको लागि रिकुमेन्ट गर्नको लागि उनीहरुले आइडेन्टिफाइ गरेको कामलाई फिल्ड फेरिफिकेसन गर्न नेपाली पक्षले सहभागिता जनाएको हो। बाँकी अन्य मर्मत लगायतका सम्पूर्ण कार्य भने भारतीय पक्षले नै गर्नेछ।'
भारतीय पक्षको नेतृत्व भने गंगा नदी बाढी नियन्त्रण आयोजनाका प्रमुख सीके एल दासले गरेका थिए। उनले फिल्डमा पुगेर वस्तुस्थिति अध्ययन गरिएकाले तटबन्ध र स्पर मर्मतको कार्यलाई अघि बढाउन सहज हुने बताए। दासले थप अजेण्डाका विषयमा भने उच्चस्तरीय समितिको बैठकमा कुरा उठाउने बताए।
टोलीमा नेपालको तर्फबाट विपद् व्यवस्थापन महाशाखासहित भू-आर्जन कार्यालयका पदाधिकारीका अलावा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।