फाइल तस्बिर
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन्।
राष्ट्रपति भण्डारीले नेपालको राजधानी काठमाडौंलाई नमूनायोग्य बनाउन विद्युतीय सवारीसाधन सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। उनले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वायु प्रदूषण कम गरी स्वच्छ र सफा काठमाडौं बनाउन पनि विद्युतीय सवारीसाधनको प्रयोग अति आवश्यक भएको बताइन्।
शनिबार काठमाडौंको स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आत्मनिर्भरताको निम्ति, काठमाडौं उपत्यकालाई नमूनायोग्य बनाउनका लागि स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने स्मरण गराइन्।
राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा बढिरहेको प्रदूषणलाई कम गर्न इँट्टाभट्टाहरुमा पनि विद्युतीय ऊर्जाको उपयोग गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन्। उनले सिमेन्ट उद्योगहरुमा विद्युतीय ऊर्जाको प्रयोग गरेर पनि नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने बताइन्। त्यसका लागि नेपालमा स्रोतको कुनै कमी नभएको पनि राष्ट्रपति भण्डारीले उल्लेख गरिन्।
उनले बुद्ध दर्शनलाई गीत, संगीतको माध्यमबाट विश्वभर फैल्याउने काम गरिरहेको ज्ञानमाला भजन खलःले आफ्नो भवन पुनर्निर्माणमा पनि आफ्नै स्रोत र साधन प्रयोग गरेको उल्लेख गर्दै त्यसबाट सबैले सिकेर अघि बढ्न सके मुलुकलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजाने अभियानमा ढिलाइ नहुने बताइन्।
राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको चपेटाबाट मुलुकलाई जोगाउन पनि हामीसँग रहेका सम्पदाहरुको परिचालन गर्न आवश्यक रहेको बताइन्। कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गीत, संगीतको माध्यामबाट बुद्धको सन्देश विश्वभर पुर्याउन योगदान गरिरहेको ज्ञानमाला भजन खलःलाई आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाहरुको संरक्षणको कामलाई महानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर अघि बढाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।