लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय सल्लाहकार कुल आचार्यले १०औं महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोटसम्बन्धी विवाद समाधान गरेर मात्रै निर्वाचन गराउनु पर्ने बताएका छन्।
एनआरएनएको केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका आचार्यले छिटो भन्दा छिटो चुनाव गराउनु पर्ने कुरामा जोड दिए।
'चांडो भन्दा चांडो चुनाव हुनु पर्छ भन्ने हाम्रो माग हो र हामी चुनावका लागि तयार छौं। तर, डेलिगेट्स छनोटसम्बन्धी विवाद, संघका अभियन्ताहरुले परराष्ट्रमा दिएको उजुरी र परराष्ट्र मन्त्रालयले दिएको लिखित निर्देशनलाई सम्बोधन नगरी एकपक्षीय रुपमा चुनावको मिति घोषणा गर्नु गैर जिम्मेवारीपनको उदाहरण हो,' आचार्यले भने।
उनले वर्तमान आईसीसीको कार्यकाल पुरा भइसकेकाले विधानको मर्म र गत अक्टोबर महिनामा भएको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको पहिलो विश्व भेलाको निष्कर्ष बमोजिम डेलिगेट्स छनोटसम्बन्धी विवाद समाधान गर्नुपर्ने बताए।
'गत एनसीसी चुनावमा एमआईएस प्रणालीको व्यापक दुरुपयोग भएको भन्ने उजुरीहरु परेका छन्। त्यसैले त्यस्ता उजुरीहरुलाई सम्बोधन गरी स्वतन्त्र, निस्पक्ष र विश्वसनीय चुनाव सम्पन्न गर्न आजको आवश्यकता हो,' आचार्यले भने।
शुक्रबार गैरआवासीय नेपाली संघका कार्यवाहक अध्यक्ष कुमार पन्तले एक विज्ञप्ति प्रकाशित गरी आगामी १५ डिसेम्बर २०२१ मा अनलाइन माध्यमबाट चुनाव गरी डिसेम्बर १९ र २० मा काठमाडौंमा १०औं अन्तर्राष्ट्रिय महाधिवेशन गरिने जनाएका थिए।
विज्ञप्तिमा परराष्ट्र मंत्री डा. नारायण खड्कासंग पटक पटक वार्ता भएको जनाइए पनि चुनाव गर्न परराष्ट्रले सहमति, दिए नदिएको भने खुलाइएको छैन।
यसैबीच संघको २०२१-२३ कार्यकालका लागि महासचिव पदका उम्मेदवार केशव पौडेलले अध्यक्ष पन्तले परराष्ट्र मन्त्रालय, उजुरीकर्ता तथा अध्यक्ष पदका उम्मेदवारहरुसंग समेत छलफल गरेर सहमति खोज्नुपर्ने बताएका छन्।
'छिटोभन्दा छिटो चुनाव गराउनु अहिलेको आवश्यकता हो। त्यसैले सबै सरोकारवाला पक्षहरुसंग तत्काल छलफल गरेर निकास निकाल्नु पर्दछ,' पौडेलले भने।
त्यस्तै संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले प्रतिनिधि विवादको टुंगो नलगाइ विना सहमति, विना मतदाता नामावली अधिवेशनको मिति तोक्नुको कुनै अर्थ नरहेको बताएका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै पण्डितले भनेका छन्, 'यो विवादले अर्को मिति पनि तोकिन सक्ने खतरालाई निम्त्याउन पनि सक्छ। त्यसैले विचार गरेर ठण्डा दिमागले सोचेर मात्र कदम चाल्न सम्वन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।