काठमाडौं- महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले ६५ हजार ३ सय ३५ रुपैयाँ नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ। मंगलबार बेलुका गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकाबाट उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ८ घर भई हाल गोकर्णेश्वर नगरपालिका-६ नारायणटार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप शिरुवारी गाउँपालिका-२ घर भई हाल बूढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भई हाल काठमाडौं बूढानिलकण्ठ नगरपालिका-१० मिलनचोक बस्ने १९ वर्षीय चिरन्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन्।
दक्षिणढोकामा केही व्यक्तिले नक्कली नोट जस्तो देखिने पैसा साथमा लिई सामानहरु खरिद गर्न लागेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका अनुसार गोमालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिए शरिर तलासी गर्दा नक्कली जस्तो देखिने सयका दरको नेपाली नोटहरु फेला पारेका थिए। अनुसन्धान गर्दै जाँदा गोमाले उक्त पैसा छोरी पुष्पा थापामगरबाट लिएको बताएपछि प्रहरी उनको कोठामा पुगेको थियो।
गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा रहेको कोठाको तलासी लिँदा ५००, १००० को नोट बनाउनको लागि प्रिन्ट गरी पैसाको आकारमा काटेर राखेको अवस्थामा नक्कली नोटहरू बारामद भएको परिसरले जनाएको छ।
सोही घटनामा चिरन्जिवी जोती र सुजन जोतीको समेत संलग्नता रहेको भन्ने खुल्न आए पछि उनीहरुलाई पनि नियन्त्रणमा लिइएको छ। पुष्पाकै छोरा समरोज थापामगर बस्ने बूढानिलकण्ठ नगरपालिका-११ कपनमा रहेको कोठामा रंगिन प्रिन्टबाट उक्त नक्कली नोटहरू प्रिन्ट गरी बनाउने गरेको खुलेको परिसरले जनाएको छ।
समरोजको कोठामा तलासी गर्दा एक सयका नक्कली नोटहरू, रंगिन प्रिन्टर र कागजात बरामद भएको परिसरले जनाएको छ। परिसरका अनुसार गोमाको साथबाट सयका २९ वटा, पुष्पाको कोठाबाट एक हजारका ३७, पाँच सयका ५६, दस, बीस, पचाससमेतका नोटहरू बरामद भएको छ।
पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान थालिएको परिसरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।