काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कतारलाई ११९ रनले पराजित गरेको छ ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा मंगलबार भएको खेलमा नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा मात्र २७ रन बनाएर अलआउट भयो।
कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८/८ रन जोडिन्। केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाइन्।
कतारका ५ खेलाडी भने शुन्य रनमै आउट भए। कतारलाई सस्तैमा समेट्न नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिइन्। कविता कुँवर र सिता राना मगरले २/२ तथा करुणा भण्डारीले १ विकेट लिइन्।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। नेपालका लागि इन्दु वर्माले अर्धशतकीय इनिङ्स खेलिन्। इन्दु ४७ बलमा ५५ रन बनाएर रिटायर्ड हर्ट भइन्।
इन्दु टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने पहिलो नेपाली महिला खेलाडी समेत बनिन्।
नेपालका लागि सीता राना मगरले ३९ रन जोडिन् भने सरिता मगरले २१ र काजल श्रेष्ठले ३ रन बनाइन्। कप्तान रुबिना क्षेत्री शुन्य रनमा आउट भइन् भने कविता कुँवर ८ रन र अप्सरी बेगम शुन्य रनमा अविजित रहिन्।
कतारकी सबिजा पानायन र एन्जेलिन मारेले एक एक विकेट लिइन्।
जितसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ।
आईसीसी महिला टी-२० विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-२० सिरिज खेलिरहेको हो।
विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।