काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन्। यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उनको विश्वास छ।
छठले मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै सबै नेपालीमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास पनि उनले व्यक्त गरेकी छन्।
विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास छ। सम्पूर्ण पृथ्वीलाई समान रूपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर यो चाड मनाइन्छ।
तराई तथा मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा सूर्य देवता र छठी माताको पूजाअर्चना गरी मनाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।