काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा अहिले बैठक चलिरहेको छ।
बैठकअघि उपाध्यक्ष भीम रावलसहितका नेताहरूले छुट्टै छलफल गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक कार्यक्रममा १० बुँदे सहमतिको एकतारे धेरै नबजाउन भनेपछि रावल र घनश्याम भूसाललगायतका नेताहरू असन्तुष्ट छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत् पनि यसको प्रतिवाद गरेका छन्।
सोही विषयमा नेताहरू रावल, सुरेन्द्र पाण्डे र शंकर पोखरेलले छलफल गरेका हुन्। उनीहरूले तुलसीलाल प्रतिष्ठानकै एक कक्षमा छलफल गरेका थिए। नेताहरूबीच थप के कुराकानी भयो भन्ने सार्वजनिक गरिएको छैन।
एमालेको जारी स्थायी कमिटी बैठकमा पार्टीको पालिका अधिवेशनलगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय सदस्य एवं कार्यालयसचिव शेरबहादुर तामाङले बताए।
मुख्यगरी बैठकमा विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषयमा छलफल हुने अजेण्डा तय भएको तामाङले बताए।
त्यसैगरी, देशका विभिन्न स्थानमा हालैको अविरल वर्षका कारण भएको जनधनको क्षतिका विषयमा पनि बैठकमा छलफल हुने उनले बताए।
विधान महाधिवेशन सकिएपछि पार्टीको कुनै तहको बैठक बसेको थिएन। त्यस्तै स्थायी कमिटी बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।