काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट श्रीमान्श्रीमतीको मृत्यु भएको छ। स्थानीय डिलासैनी सामुदायिक बनबाट आएको हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका १२ बसन्तपुर बस्ने ६६ वर्षीय ध्वजबहादुर कार्की र उनकी ५३ वर्षीय श्रीमती मथुरा कार्की रहेका छन्।
शुक्लाफाँटा नगरपालिकाका न्यायिक समिति सदस्य प्रमानन्द जोशीले आज बिहान ३ बजेतिर जङ्गलबाट गाउँ पसेको हात्तीको बथानले आक्रमण गरेपछि उनीहरुको मृत्यु भएको जानकारी दिए।
जङ्गलको किनार नजिकै घर भएका कार्की दम्पत्ती हात्तीको बथान देखेपछि घरबाट बाहिर निस्केर भाग्न खाजेको थिए। त्यही क्रममा हात्तीले आक्रमण गरेपछि उनीहरुको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय झलारीले पनि आज बिहान १५ देखि १७ वटा हात्तिको बथान जङ्गलबाट गाउँतर्फ पसेको जनाएको छ।
जङ्गलबाट गाउँ पसेको हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि शुक्लाफाँटा वडा नम्बर १२ र १ का स्थानीयवासीह त्रसित बनेका छन्। शुक्लाफाँटा नगरपालिका क्षेत्रमा हरेक वर्ष हात्ती गाउँ पसेर खेतबाली नष्ट गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।