काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई 'पञ्चे गुट'को संज्ञा दिएका छन्। साढे २ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको गठबन्धनले एमालेसँग चुनावी प्रतिस्पर्धा गर्ने? भन्दै ओलीले प्रश्न समेत गरे।
बिहीबार राजधानीमा आयोजित एक कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो पाराले एमालेसँग प्रतिष्पर्धा नहुने भन्दै गठबन्धनप्रति व्यंग गरे।
उनको भनाइ थियो, ‘साढे २ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने, एमालेसँग लड्न गफ दिने? हामीसँग लड्न पञ्चेगुट एकजुट भएर आउन्, यस्तै लिरिखिरी पाराले हुन्छ?’
उनले गठबन्धनको ‘एकता देखियो’ भन्दै खिसिट्युरी पनि गरे। आफूले भए तीन दिनभित्र मन्त्रिपरिषद् विस्तार गरिसक्ने पनि ओलीको भनाइ थियो।
आफ्नो पार्टी अहिले एक ढिक्का भएर, एक विचार लिएर, एउटा उद्देश्यका साथ गन्तव्यमा पुग्न अघि बढेको उनको दाबी छ। उनले भने, ‘हामीकहाँ पदका लागि मरिमेटाइ हुँदैन। कोही छन् भने तिनलाई प्रोत्साहित गरिँदैन।’
उनले माधव नेपालको अध्यक्षतामा बनेको नेकपा एकीकृत समाजवादीलाई ‘पदाधिकारी पार्टी’को संज्ञा दिए। ओलीले एकीकृत समाजवादी पार्टीको नाममाथि पनि व्यंग्य गरे, ‘एमालेबाट फुटेको एउटा चोइटो, एकीकृत? फुटेर चोइटो भएपछि एकीकृत हुँदो रहेछ। टिभीमा देखेको, अध्यक्ष भनेका बेला माधव नेपाल गमक्क परेर मुस्कुराउँछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।