काठमाडौँ– प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा आन्दोलन चर्किँदै गर्दा नुवाकोटको तारूकाका धर्मराज अधिकारी पढ्नका लागि काठमाडौँ आइसकेका थिए। युवा जोश थियो। राजनीतिक रुपमा पनि सचेत थिए। त्यसैले आन्दोलनमा लागिहाले। त्यसक्रममा दरबारमार्गमा भएको गोलीकाण्डमा उनी पनि घाइते भए।
प्रजातन्त्र आएपछि केही समय राजनीतिमा सक्रिय रहे। पढाइ पनि चलिरहेको थियो। अन्तर्राष्ट्रिय डिग्री हासिल गर्ने रहरका कारण सन् १९९६ मा उनी अध्ययनका लागि अष्ट्रेलिया पुगे। उनको विषय थियो, बिजनेस स्टडिज।
विद्यार्थी हुँदा खर्च जुटाउन अनेक संघर्ष गरे। पढाइ सकाएर नेपाल फर्कने सोच थियो। तर, उतै काम गर्न थालेपछि उनलाई नयाँ भूमिमा संघर्ष गर्ने बानी बस्यो। साथ दिन नेपालबाट श्रीमती पनि अष्ट्रेलिया नै पुगिन्।
त्यसपछि उनी आफैंले व्यवसाय थाले। सन् २०१२ मा उनले चर्चित अन्तर्राष्ट्रिय चेन ‘डोमिनोज पिज्जा’को पहिलो फ्रेन्चाइजी लिए। अहिले उनले दर्जनभन्दा बढी डोमिनोज पिज्जाको फ्रेन्चाइजी लिएका छन्। उनको व्यवसाय सिड्नीदेखि पर्यटकीय नगर ओलङ्गन लगायत शहरमा फैलिएका छन्। ती फ्रेन्चाइजीमा उनको एकल लगानी छ।
सिड्नी आसपासका क्षेत्रमा छोटो समयमै डोमिनोज पिज्जाको दर्जनभन्दा बढी स्टोर खोल्न सफल अधिकारी सफल व्यवसायीका रुपमा चिनिएका छन्। अहिले उनी विश्वभरका नेपालीका लागि प्रेरणा बनेका छन्। र, संघर्षले अष्ट्रेलियामा कमाएको धन उनी नेपालमै लगानी गर्न थालेका छन्।
नेपालमा जोडिने, नेपालीलाई सघाउने
अष्ट्रेलियामात्र होइन, अहिले नेपालबाहिर व्यवसायमा जमेका प्रायः नेपाली यहाँको नागरिकता त्यागेर उतैका नागरिक बनिसकेका छन्। धर्मराज त्यसमा अपवाद हुन्। झण्डै तीन दशक अष्ट्रेलियामा बिताउँदा पनि उनीसँग अष्ट्रेलियन राहदानी छैन। नेपाली हरियो राहदानी बोकेरै उनी सिड्नी काठमाडौं मात्र ओहोरदोहोर गर्दैनन्, संसारभर हरियो पासपोर्टमै पुग्छन्। सजिलो त उनलाई अष्ट्रेलियन राहदानीले नै हुन्थ्यो। तर, मनले मान्दैन। भन्छन्, ‘यसले नै त मलाई देशसँग जोडिरहेको छ।’
अधिकारी प्रारम्भिक चरणदेखि नै गैर आवासीय नेपाली संघ (एनआरएनए) मा आवद्ध छन्। उनी एनआरएनए ओसेनिया क्षेत्रका पूर्वसंयोजक हुन्। उनले विगतमा पूर्वअध्यक्षहरु देवमान हिराचन, शेष घले, जीवा लामिछाने र उपेन्द्र महतोको टीममा रहेर काम गरिसकेका छन्।
नेपालको अर्थतन्त्रको सम्बन्ध श्रम र पसिनासँग जोडिएको उनको भनाइ छ। नेपाली जनताको भविष्य निर्माणका लागि विदेश गएर श्रम र सीप देखाउने गैरआवासीय नेपाली वा तिनका नयाँ पुस्ता नेपाल फर्किएपछि स्वदेशमै सम्मानका साथ काम गर्न सक्ने वातावरण सिर्जना गर्ने योजना आफूसँग रहेको उनी बताउँछन्। ‘देशको अर्थतन्त्र र जनताको सपना जोड्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममार्फत् नेपाली जातिको सुखद भविष्य निर्माण गर्नुपर्छ,’ उनी भन्छन्।
अहिले भने आफू विदेशमा नेपाली कामदार सुरक्षित र उत्साही ढंगले काम गर्ने वातावरण बनाउने अभियानमा लागेको अधिकारीले बताए। उनी ‘एक घर, एक लगानी’ मार्फत सम्पूर्ण नेपालीलाई एउटै सूत्रमा बाँधेर व्यवसाय अघि बढाउने अभियानमा छन्। प्रवासी नेपालीमाझ चर्चामा रहने दोहोरो नागरिकता, लगानी, ज्ञान र सीपको प्रसारण, व्यावसायिक शिक्षा प्रदान गर्ने स्कुल र स्वदेशमा गरिने लगानीका लागि एनआरएन कार्ड उपलब्ध गराउनु पर्नेलगायत विषयमा उनले एनआरएनएभित्र र बाहिर अभियान चलाइरहेका छन्।
एनआरएनएका विभिन्न शाखाले नेपाल तथा संसारभर छरिएका नेपाली समुदायबीच कल्याणकारी काम गर्दै आएका छन्। तर, यस्ता काममा धेरै ठाउँमा दोहोरोपन देखिएका गुनासा पटक–पटक सुनिने गरेका छन्। अधिकारीका अनुसार स–साना आयोजनामा सहयोग परिचालन गरिँदा संघले गरेका कामको लेखाजोखा राख्न गाह्रो भइरहेको विषय बेलाबेला उठ्ने गरेको छ।
‘यस्ता कामलाई व्यवस्थित बनाउन विधानमा व्यवस्था भएबमोजिम एनआरएन फाउन्डेशन स्थापना भइसकेको छ,’ अधिकारी भन्छन्, ‘फाउन्डेशनले कोष स्थापना गर्ने र उक्त कोषको रकम नेपालमा प्राकृतिक प्रकोपलगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रावधान छ। गैर आवासीय नेपालीसम्बन्धी ऐनमा नेपाल सरकार र मातहतका निकायले गैरआवासीय नेपालीका कल्याणकारी कामलाई सहजीकरण गर्ने बुँदा समावेश गर्न आवश्यक छ।’
नेपालमा ठूलो प्राकृतिक विपत हुँदा सो फाउन्डेशनले तत्काल सहयोग गर्न सक्ने प्रावधान राख्नु आवश्यक हुने उनको भनाइ छ। पछि संसारभरबाट सहयोग संकलन गरी उक्त कोषमा रकम शोधभर्ना गर्न सकिने उनी बताउँछन्।
नेपालमा भूकम्पका बेला गरिएको सहयोग संकलन समयमा पुग्न नसकेको र केही ठाउँमा दुरूपयोग भएको भन्ने गुनासो थियो। त्यसैले कोषको व्यवस्थापन र संचालनका लागि स्पष्ट नियमावली बनाउन जरुरी भएको उनी बताउँछन्। खर्च गरिएको संकलित रकमको लेखा परीक्षण गरेर त्यसको विवरण सार्वजनिक गरिनु पर्ने माग पनि एनआरएन सदस्यहरुले गरेका छन्। अधिकारी भन्छन्, ‘पारदर्शी संघसंस्थाको विश्वव्यापी मान्यताभित्र रहेर काम गर्न सकेमा संस्थाप्रति आमजनताको विश्वास बढ्छ, हामीले गरेका कामले सही बाटो समात्छ।’
खाडी मुलुकमा रहेका श्रमिकहरुको हितमा एनआरएनमार्फत् सहयोग परिचालन गरिनु पर्ने उनको धारणा छ। त्यस्तै नेपाली समुदाय घरजमसहित बस्ने गरेका पश्चिमा मुलुकहरुमा नेपाली भाषा कक्षा सञ्चालन गर्ने, सांस्कृतिक प्रवद्र्धन र अन्य मानवीय सहायताका लागि सहयोग परिचालन गर्न सकिने उनी बताउँछन्।
एनआरएनए दशौं महाधिवेशनमा आगामी कार्यकालका लागि उनी अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन्। एनआरएनलाई विधिपूर्वक चलाउने प्रणाली बनाउन र अस्वस्थ चुनाव हुने चलन हटाउन आवश्यक रहेको उनको भनाइ छ। संस्थामा भोटर हैन, सदस्य संख्या बढाउने रणनीति हुनुपर्ने उनी बताउँछन्।
उनले विगतका कार्यकालमा पनि एनआरएनएका फरक जिम्मेवारीमा रहेर काम गरेका थिए। पछिल्लो महाधिवेशनमा भने उपाध्यक्ष पदमा थोरै मतान्तरले पराजित भएका थिए।
अहिलेको उम्मेदवारी आफ्नै विगतको अनुभव र सोच कार्यान्वयन गर्ने उद्देश्यका लागि भएको उनी बताउँछन्। ‘एनआरएनले नेपालमा लगानीका लागि १० अर्बको फण्ड बनाउने, नलेज ट्रान्सफर, पोलिसी इन्स्टिच्युट, नेपाली नागरिकताको निरन्तरता लगायत विषयमा भएका सैद्धान्तिक सहमति र प्रगतिलाई कार्यान्वयन तथा संस्थागत गर्दै विश्वभरका नेपालीका नयाँ मुद्दा र समस्या समाधान गर्नु मेरो कर्तव्य हुनेछ,’ उनी भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।