काठमाडौं- नेकपा (माओवादी केन्द्र)निटक अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष र महासचिव पदका लागि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।
यही असोज ८ गतेबाट हुने सम्मेलनबाट संगठनको नेतृत्व हात पार्न आधा दर्जनभन्दा बढी विद्यार्थी नेता अघि सरेका छन्। यसअघि निर्वाचित अध्यक्ष रञ्जित तामाङ बिदा हुने भएपछि नयाँ नेतृत्वका लागि विद्यार्थी नेताहरूले आफूनिकट नेतासँगको भेटघाटलाई तीव्रता दिएका छन्। महासचिव पदका आकांक्षी पनि १० जनाभन्दा बढी देखिएका छन्।
अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन असोज ८, ९ र १० गते काठमाडौंमा हुँदै छ। कीर्तिपुरमा हुने बन्दसत्रबाट नयाँ नीति र नेतृत्व चयन गर्दै सकिने अखिल क्रन्तिकारीका उपाध्यक्ष तिलकराज भण्डारीले बताए। उनका अनुसार राष्ट्रिय सम्मेलनको तयारीस्वरूप अहिलेसम्म अधिकांश जिल्ला सम्मेलन पूरा भइसकेका छन्। असोज ३ र ४ गते सातवटै प्रदेशको सम्मेलन ‘भर्चुअल’ माध्यमबाट सम्पन्न गर्ने तयारी छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिमै नेतृत्व टुंगो लगाउन विद्यार्थी नेताहरूलाई निर्देशन दिएका छन्। प्रचण्डले हालै योङ कम्युनिस्ट लिग (वाईसीएल)को नेतृत्व सहमतिबाट चयन भएको उल्लेख गर्दै विद्यार्थी संगठनमासमेत सहमतिमै नेतृत्व टुंग्याउनुपर्ने बताएको विद्यार्थी नेताहरूको भनाइ छ। तर, सहमतिमा नेतृत्व चयन हुने सम्भावना नरहेको उनीहरू बताउँछन्। निर्वाचन हुने निश्चित भएपछि अध्यक्ष र महासचिव पदका लागि धेरैले दाबी गरेका छन्।
सर्वसम्मत रूपमा नेतृत्व चयन हुने स्थिति नभएकाले निर्वाचन हुनुपर्ने अखिल क्रान्तिकारीका उपाध्यक्ष भण्डारीले बताए। ‘उपयुक्त कार्ययोजना पेस गरेर पार्टी नेतृत्व र विद्यार्थीहरूलाई कन्भिन्स गराएमा सर्वसम्मत नेतृत्व चयन हुनसक्छ,’ भण्डारीले नेपाल लाइभसँग भने, ‘यदि हामीले वाईसीएलजस्तै नेतृत्व चयन हुने स्थिति आएमा मान्दैनौं। त्यस्तो अवस्थामा चुनाव गरेर नेतृत्व चयन हुने वातावरण पार्टीले बनाउनुपर्छ। निर्वाचन प्रक्रियालाई रोक्न खोजे मान्य हुँदैन।’ विद्यार्थीलाई निर्वाचनबाट नेतृत्व चयन गर्ने अधिकार दिएमा सही र राम्रो व्यक्ति आउने भण्डारीको भनाइ छ।
त्यसो त अखिल क्रन्तिकारीभित्र तामाङपछि प्रभावशाली विद्यार्थी नेताको अभाव रहेको चर्चा छ। त्यस्तो अवस्थामा सर्वसम्मत रूपमा नेतृत्व टुंगो लगाउँदा संगठनको ओज घट्नसक्ने विद्यार्थी नेताहरू बताउँछन्। ‘विद्यार्थी संगठनमा निर्वाचनबाट नेतृत्वमा आउनु भनेको स्वयं विद्यार्थी नेताका लागि अग्निपरीक्षा हो,’ एक विद्यार्थी नेताले भने, ‘यस्तो अवस्थामा पार्टीले निर्वाचनबाट नेतृत्व आउन दिएमा उसको पनि आफ्नो औकात जाँच गर्नु हो।’ सर्वसम्मत रूपमा नेतृत्व चयन भएमा विद्यार्थी संगठनभन्दा नेतृत्वप्रति बफादार हुने भएकाले निर्वाचनबाट नेतृत्व चयन हुने वातावरण बनाउनुपर्ने ती नेताले बताए। यसअघि अखिल क्रान्तिकारीमा सहमतिमा नेतृत्व टुंगो लगाउन पार्टीले दबाब दिएको थियो। विद्यार्थी संगठनले पार्टीलाई दबाब दिएपछि अध्यक्षमा तामाङ निर्वाचित भएका थिए। उतिबेला तामाङले अनिल शर्मालाई पराजित गरेका थिए।
अहिले अध्यक्षका लागि ६ जनाको नाम चर्चामा रहेको भण्डारीले बताए। जसमा तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, पञ्चा सिंह, विजय गौतम, दीपक देवकोटा र उत्तम अधिकारीको नाम चर्चामा छ। यसरी दाबी गर्नेमा अधिकारीबाहेक सबै यसअघिका उपाध्यक्ष हुन्। अध्यक्ष दाबी गर्ने नेताहरूले आ-आफ्नो निकट नेताको फेरो समाएका छन्।
यस्तै महासचिवका लागि १० जनाभन्दा धेरैले दाबी गरेको भण्डारीले बताए। दीपेश पुन, जीपी मैनाली, मिलन एमसी, तुकमान महरा, नरेश रेग्मी, पवन कार्की, केशव रावल, अच्यूत भट्टलगायतको नाम चर्चामा छ। अधिकांशले उपाध्यक्ष पद पक्का गर्नका लागि महासचिवमा दाबेदारी प्रस्तुत गरेको देखिन्छ।
आगामी सम्मेलनबाट केन्द्रीय कमिटीको आकारसमेत घटाउने तयारी गरिएको अखिल क्रान्तिकारीका एक नेताले बताए। यसअघि २४३ जनाको केन्द्रीय कमिटी भद्दा भएको भन्दै घटाएर १५१ सदस्यीय बनाउने तयारी गरिएको हो। जसमा अध्यक्ष, उपाध्यक्ष (५ जना), महासचिव, कोषाध्यक्ष, उपमहासचिव (२ जना), सचिव (१३ जना) बनाउने तयारी गरिएको ती नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।