काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'प्रचण्डपथ' विमानस्थलबाट उड्दै गरेको विमान भएको बताएका छन्।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘प्रचण्डलाई थाहा भइसक्यो अब आफ्नो यात्रा सानो सानो हुँदै जान थाल्यो भनेर,’ ओलीले भने, ‘त्रिभुवन विमानस्थलबाट उड्ने विमान हेर्नुस् एयरपोर्टबाट उड्दा ठूलो हुन्छ, उड्दै गएपछि सानो देखिन्छ। अब प्रचण्डपथ त्यही हो।’
ओलीले नेकपा भएर एकीकृत पार्टी बनेको भन्दै उनले प्रचण्डले के दिन्छन् भनेर केही बसेको बताए। ‘गाई भैंसीलाई घास हाले त दुध दिन्छ तर, प्रचण्डलाई के हालेर के दिन्छन्,’ उनले भने, ‘माओवादी केन्द्रमा प्रचण्डसँग भएका नेता कार्यकर्ताहरुलाई एकीकृत पार्टीमा फर्किन आग्रह गर्दछु।’
'दुई वर्षपछि म एक्लै हुन्छु कि क्या हो भनेको सुन्नु भएको होला। होइन हामीलाई वडा जित्न गाह्रो छ कि क्या हो सुन्न थाल्नु भयो होला नि! यो पार्टी काम लाग्दैन विघटन गरिदिए हुन्छ भनेको पनि सुन्नु भएको होला नि!', ओलीले भने, 'हामा साथीहरूले सबै कुरा बिर्सिए ४९ जना मन्त्री हुन मात्रै खोज्छन् म त हैरान परे भनेर टाउको समातेको पनि देख्नुभयो होला नि! त्यसकारण मान्छेहरूको मनबोल टुटिसकेको छ।'
नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकीकृत पार्टी भइसकेको भन्दै उनले प्रचण्डले केही मानिसलाई भ्रममा पारेर अल्मलाएर राखेको बताए। माधव नेपालप्रति लक्षित गर्दै उनले केही मानिस चोइटिएर गएको उनले बताए।
‘पार्टी प्रमुख र प्रधानमन्त्री भएर चलाइसक्नु भएको मानिस इगोका लागि जे पनि गर्ने काम भयो,’ उनले भने, ‘तर, कार्यकर्ता साथीहरुलाई आग्रह गर्न चाहन्छु। भ्रममा नपर्नुस्, मौरीको संगत लागेर गए फुलको बगैंचामा गइन्छ। झिगाको पछि लागेर गएर फोहोरको डुंगरमा परिन्छ। त्यही भएर मौरीको पछि लाग्नुस् नेकपा एमाले त्यस्तै मौरी हो।’
उनले अब कुनै पनि अलमलमा नपरेर पार्टी सुदृढ बनाउनेतर्फ अघि बढ्न उनले सबैलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।