काठमाडौं- नेकपा एमालेका कतिपय नेताहरूले आफ्ना भाषणमा माधवकुमार नेपाललाई एमालेमै फर्किन आग्रह गर्ने गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा पनि अष्टलक्ष्मी शाक्य लगायतका नेताहरूले नेपाललाई एमालेमा फर्किन आग्रह गरे। तर, यसरी नेपालालई एमालेमै फर्किन आग्रह गर्नेहरूलाई अध्यक्ष केपी शर्मा ओलीले प्रतिप्रश्न गरेका छन्। उनले एमालेमा माधव नेपालको आवश्यकता नभएको प्रष्ट पारेका छन्।
बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले भने- 'केही साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव कामरेड आउनुस्, तपाईंको आवश्यकता छ। अब फुटाउनलाई आवश्यक छ उहाँको यहाँ? फेरि फुटाउने? के गर्न आवश्यकता छ माधव कामरेडको, त्यो म बुझ्दिनँ।'
ओलीले माधव नेपाल छउञ्जेल पार्टीमा गुटबन्दीभन्दा बाहेक केही नभएको बताए। 'माधव नेपालले तीन वर्षमा पार्टीको पक्षमा र सरकारको पक्षमा एक शब्द बोलेको कमरेडहरुले सुन्नुभयो? सरकारको आलोचना र विरोध प्रतिक्रियावादी भन्दा चर्को', उनले भने।
उनले माधव नेपाललाई नभने पनि उनले झुक्याएका नेता तथा कार्यकर्ताहरुलाई फर्किन आग्रह गरे।
माओवादी केन्द्र हामीसँग मिलिसक्यो, प्रचण्ड गुट मात्र अलग भएको हो
कार्यक्रममा ओलीले माओवादी केन्द्रको एमालेसँग मिलन भइसकेको बताए। तर, त्यसबाट प्रचण्ड गुट भने अलग भएको बताए। उनले प्रचण्डको पार्टीको नाम राजनीतिक रुपमा माओवादी केन्द्र भएपनि त्यो प्रचण्ड गुट मात्र भएको टिप्पणी गरे।
'दुई पटक पार्टी फुट्यो। एक पटक प्रचण्डले फुटाए। माओवादी केन्द्रबाट एकीकृत भएको थियो, त्यसको प्रचण्ड गुट लिएर अलग भए। उनलाई सानो प्रचण्ड गुट चाहियो। माओवादी केन्द्रका धेरै नेता प्रचण्डको पछाडि जान मानेनन्। एकता तोड्न मानेनन्। फेरि प्रचण्ड गुटतिर फर्किन मानेनन्', ओलीले भने, 'एकीकृत पार्टीकै रुपमा रामबहादुर थापा यहीँ हुनुहुनछ। टोपबहादुर रायमाझी, लेखराज भट्टजी लगायतका साथीहरु यहीँ हुनुहुुन्छ। कानुनी रुपमा माओवादी केन्द्र नाम छ। अब त्यो माओवादी केन्द्र होइन, त्यो प्रचण्ड गुट मात्रै हो।'
उनले एमाले जस्ताको त्यस्तै रहेको दाबी गरे। प्रदेशहरूमा थोरै अप्ठेरो परेको भएपनि एमाले सिंगै रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।