काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे प्रतिवद्धताबाट पार्टी नेतृत्व पछि नहट्ने बताएका छन्। १० बुँदे सुझावहरुलाई सृजनात्मक ढंगले लागू गर्नुपर्ने उनको भनाइ छ।
बिहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले १० बुँदे सहमतिमा 'पोलिटकल सेन्स'ले काम गरेकाले यसमा कुनै 'इफ बट नहुने' उल्लेख गरे। उनले सबै नेता कार्यकर्ता पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनु पर्ने बताए। 'पार्टीको पक्षमा नउभिने कुरा हुन्छ भने हामी एकताको पक्षपाति हुन सक्दैनौं' उनले भने, ' एकताको कुरागरी रहने सबै साथीहरुको अगाडि एउटा चुनौतिपूर्ण अभिभारा छ।'
पोखरेलले पार्टीमा नेतृत्वलाई व्यवस्थित गर्नुपर्ने बताए। नेतृत्वलाई व्यस्थित गर्नु भनेको योग्यतम नेताहरुलाई विधि सम्बद्ध ढंगले नेतृत्वमा स्थापित गर्नु भएको उनको भनाइ छ। सबै नेताहरु नेतृत्वका लागि योग्य भएपनि योग्यहरु मध्येबाट योग्यतम् छनोट गर्नुपर्ने आजको आवश्यकता भएको उनले बताए।
गुटबन्दीमा लागेर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने, फुट र विभाजनकारी गतिविधिलाई सहयोग पुर्याउने कुरालाई कुनैपनि हालतमा स्वीकार गर्न नसकिने उनको भनाइ थियो। 'यो काठमाडौ जिल्लाको भेलालले एकतावद्ध भएर एउटै स्वरमा यो निष्कर्षमा पुयाउनु पर्ने छ। तब मात्र पार्टीलाई एकतावद्ध बनाउन सकिन्छ' उनले भने।
नेपालको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उनको भनाइ छ। एउटा गठबन्धन र अर्को एमाले भएको उनी बताउँछन्।
'दुई ध्रुव मध्ये एउटा एमालेले नेतृत्व गरेको छ। जसले आर्थिक विकास र समृद्धिको कुरा गर्छ। राष्टिय स्वाभिमानको कुरा गर्यो, समाजिक सदभावको कुरा गर्यो। समाजमा अराजकताको अन्त्यको कुरा गर्यो। देश विकासको सपना देख्यो' उनले भने, 'त्यसकाविरुद्ध खडा गरिएको गबन्धन र त्यसका पक्षधर शक्तिहरु रहेका छन्। गठन्धन र त्यसका पक्षधर शक्तिहरुमा कुनै भ्रम राख्नु पर्ने जरुरी छैन। हिजो हामीसँगै थिए। हाम्रै साथीहरु थिए। हामीसँग मिलेका थिए। हिजो हामीसँग कार्यगत एकता भएको थियो भनेर लोलोपोते कुरा गर्न जरुरी छैन।' उनीहरु लोकतान्त्रिक मूल्य मान्यता विपरितका बहाक बनेको उनको आरोप थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।