फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सरकारसँग खर्च गर्न पैसा नभएको बताएका छन्। आजै मध्यरातबाट बजेट अध्यादेश पारित हुनुपर्ने भए पनि असोज ४ गतेसम्मका लागि संसद् अन्त्य गरिएको भन्दै बुद्धिमा बिर्को लागेपछि त्यस्तो हुने बताए।
'भरे मध्यरातबाट खर्च कसरी गर्ने? अर्थमन्त्रीलाई अत्तोपत्तो छैन। उनी पैसा छँदैछ बैंकमा, खर्च गरिहालिन्छ नि भन्नेमा छन्। नियम के हो, कानुन के हो, बजेट कसरी बन्छ, कसरी चल्छ देश, कसरी खर्च हुन्छ, थाहै छैन', बुधबार बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै उनले भने।
सरकारमा बस्नेले मनपरी गरेको र मनपरी चल्छ भन्ने ठानेको उनको भनाइ छ। उनले एमालेलाई अब्जस लगाउन बजेट अध्यादेश पारित नगरेको आरोप लगाए। अध्यादेशहरु प्रस्तुत गर्दा बलमिच्याइँ गरिएको भए पनि त्यसलाई पारित नगरिएको उनको भनाइ छ।
'विनियोजन विधेयकहरु सबै प्रस्तुत गर्न हुन्छ बलमिच्याइँसँग। मन्त्री कुदेको देख्नुभयो होला पार्लियामेन्टभित्र गुरुर्र मुसो कुदेजस्तो। अनि त्यसरी कुदेर प्रस्ताव राख्न हुन्छ भने, त्यो प्रस्ताव पारित गर्न हुन्छ भने, प्रेम सुवाललाई बोल्नै नदिनुहुन्छ भने, प्रस्ताव राख्नै नदिन हुन्छ भने, प्रस्ताव नराखे पनि भयो भनेर हल्ला गरेर पास गरेँ भन्न मिल्छ भने बजेट पास गर्नुपर्दैन?', उनको प्रश्न थियो।
ओलीले भोलिदेखि के गर्ने? भन्ने प्रश्न सोधे। देश गम्भीर संकटमा फसेको उनको भनाइ छ। 'अब उसँग एक कप चियाका लागि, केही मशलन्दका लागि, काजग खिल्नका लागि पीन ल्याउनुपर्यो भने सरकारसँग पैसा हुँदैन। सरकारले खर्च गर्न पाउँदैन', उनले भने।
ओलीले सरकारलाई बुख्याँचा हो कि सरकार हो? भन्ने प्रश्न पनि गरे। 'बुख्याँचाले त कमसेकम बाली खाने चरासरा त भगाउँछ। यसले त केही पनि भगाउने भएन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।