काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले आफ्नै पार्टीका सांसदहरुले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको बताएका छन्। माओवादी नेतृत्वमा प्रचण्ड छुट्टिएर गए पनि सरकार जोगाएर जानसक्ने स्थितिमा रहेको तर एमाले सांसदहरुले नै मत नदिएको उनले बताए।
'माओवादी नेतृत्वमा प्रचण्ड छुट्टिएर गए पनि एमाले नेतृत्वको सरकार जोगाएर जानसक्ने आधार थियो,' बुधबार बुटवलमा आयोजित भेलामा बोल्दै उनले भने, 'एमाले संसदीय दलको नेताले संसद्मा विश्वासको मत लिँदा एमालेका सांसदहरुले विश्वासको मत दिएनन्। त्यसैले एमालेको सरकार ढल्ने परिस्थिति बन्यो। यो तहको अराजकता यो तहको अनुशासनहीनता कम्युनिस्ट पार्टीमा मात्रै होइन, कुनै पनि राजनीतिक पार्टीमा यो प्रकारको अपेक्षा गरिँदैन।'
'२०७८ साल वैशाख २७ गते केपी ओलीले विश्वासको मत लिँदा अरुले नभइ आफ्नै पार्टीका केही साथीहरुले मतदान गरेनन्। एक प्रकारले आफ्नै पार्टीको नेतृत्वको सरकारलाई सत्ताच्युत गर्ने षड्यन्त्रको धन्दामा साथीहरु लागे। यो कुनै सिद्धान्त केन्द्रित लडाइँ थिएन। यो स्वार्थकेन्द्रित लडाइँ थियो,' पौडेलले माधवकुमार नेपाल समूहतर्फ केन्द्रित गर्दै भने।
पार्टीभित्रै लड्ने अवस्था र विकल्पहरु हुँदा हुँदै आफ्नो पार्टी नेतृत्वको सरकार गिराएर कांग्रेस नेतृत्वको सरकार निर्माण गर्न लागिपरेको उनको आरोप थियो। 'कांग्रेसको पछाडि लाग्ने अनि भन्ने वामपन्थी शक्तिको निर्माण गर्ने हुन्छ? कांग्रेसको पछाडि लागेर वामपन्थी शक्ति हुन्छ? म तपाईंलाई सोध्न चाहन्छु। कांग्रेसको पछाडि लाग्ने दक्षिणपन्थीको पछि लाग्ने अनि भन्ने वामपन्थी भन्ने हुन्छ? यस प्रकारको हाँस्यस्पद वामपन्थी कसरी हुन्छ?,' उनले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।