काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा चार वटा अजेन्डामा छलफल भएको छ। सो पार्टीको स्थायी समितिको बैठक मंगलबार दिउँसो बसेको थियो।
बैठकले विधान पास गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। विधान तयार भइसकेको भए पनि अझै भाषामा हेरफेर गर्नुपर्ने भएकाले त्यसमा थप काम गरेर आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले अनुमोदन गर्ने गरी पास गरिएको महराले जानकारी दिए।
त्यस्तै, विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग गठन गरिएको छ। आयोगमा २२ जना सदस्य रहनेछन्। 'स्थानीयदेखि केन्द्रसम्म पार्टीको निर्वाचन कसरी गर्ने भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि दिइयो', महराले भने।
विभिन्न पार्टीबाट एकता गरेकाहरुको समायोजन गर्न गठित कार्यदलले अहिलेसम्मको प्रतिवेदन बुझाएको र त्यसलाई अन्तिम रुप दिन जिम्मेवारी पनि दिइएको छ।
बैठकको चौथो अजेन्डा प्रदेशका पदाधिकारीको थपघटसम्बन्धी भएता पनि त्यसमा थप गृहकार्य गरेर मात्रै गर्ने कुरा भएको महराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।