फाइल तस्बिर।
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अग्निप्रसाद सापकोटालाई सभामुख मानिरहने स्थिति नभएको बताएका छन्। मंगलबार बिर्तामोडमा आयोजित झापा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सभामुख एमाले विभाजनको षड्यन्त्रको मतियार भएको बताए।
'सभामुखले निष्पक्षता अपनाउन नसकेपछि, पार्टी कार्यकर्ताको रुपमा काम गरेपछि, प्रमुख प्रतिपक्षी र देशको सबैभन्दा ठूलो पार्टीको विरुद्ध षड्यन्त्र गरेको हुनाले हामीले उनलाई सभामुख मानिरहनसक्ने स्थिति भएन,' उनले भने।
ओलीले सभामुख षड्यन्त्रको अंग भएको हुनाले, सभामुख षड्यन्त्रमा सामेल भएको हुनाले, षड्यन्त्रकारीको मतियार र आफैंसमेत षड्यन्त्र गरेको हुनाले र गैरसांसदलाई सांसद भनेर सभामा राखेको हुनाले आफूहरुले अहिले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरिररहेको बताए। 'हामीले बलमिच्याइँलाई अस्वीकार गर्यौं। र, अस्वीकार गरेर प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्यौं। यो विलकुल जायज काम हामीले गरेका छौं। र, यो विरोध जारी रहन्छ,' उनले भने।
ओलीले एमाले फुटाउनका लागि १२ बजे राति अधिवेशन अन्त्य गरेर भोलिपल्ट अध्यादेश ल्याइएको बताए। माधव नेपाललाई साथ दिनका लागि मात्रै अध्यादेश आएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।