काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुबास नेम्वाङले सत्तापक्षको ढङ्ग नपुगेकाले अहिलेको स्थिति आएको बताएका छन्।
संसद बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
‘संसदको बैठकमा के कार्यसूची छ भन्ने पनि थाहा हुन छोड्यो, धेरै अन्योल छ। सरकार अहिलेसम्म विस्तार हुन सकेको छैन। यो अवस्थालाई चाडै अन्त्य गर्नुपर्छ,’ उनले भने। संसद् अवरुद्ध हुँदा समस्या भयो नि त भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले सत्ता पक्षको ढंग नपुगेका कारणले अहिलेको स्थिति आएको बताएका हुन्।
‘प्रतिपक्षलाई राज्यको अभिन्न अङ्ग मानेर अघि बढ्नुस् भनेको छौं। देउवालाई बधाई दिँदा हामीले जोड दिएर भनेकै थियौं,’ उनले भने, ‘सभामुखबाट यो बीचमा जे भयो जानेर हो वा नजानेर देशको प्रमुख प्रतिपक्षीलाई भेदभाव गर्ने काम भयो।'
अरु दलका हकमा गर्ने व्यवहार र हाम्रो हकमा गर्ने व्यवहार फरक भएको भन्दै उनले यो सच्चिनुपर्ने बताए।
‘नेकपा एमालेलाई के परेको छ भने हामीप्रति भेदभाव गरियो भन्ने भान परेको छ। त्यो शंका निवारणका लागि कुनै प्रयास भएको छैन। सदनको नेता भनेको सभामुख हो नि त होइन,’ उनले भने, ‘सभामुख माथी हाम्रो आशंका छ। उहाँले त्यो निवारण गर्न सक्नुपर्यो नि।’
नेकपा एमालेले प्रष्ट रुपमा नै संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐन लगायतका आधारमा नै गरेको कारवाहीलाई सूचना नटासेर रोक्नु अनुचित भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।