काठमाडाैं– अघिल्लो सरकारले बजेटबाट ल्याएको बजेटको प्रतिस्थापन विधेयक समयमा पारित नहुँदा सरकारले केही दिन खर्च गर्न नपाउने भएको छ। ६० दिनभित्र अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुनै पर्ने कानुनी व्यवस्था अनुसार भदौ ३० (बुधबार)सम्म उक्त विधेयक पारित हुनुपर्ने थियो। तर संघीय संसदको दुवै सदनबाट बजेटका अध्यादेश पारित नहुने भएपछि केही दिन राज्यले खर्च नगर्ने अर्थमन्त्री जनार्दन शर्माले बताए।
अघिल्लो सरकारले ल्याएको अध्यादेशलाई साउन ३ गते प्रतिनिधि सभामा पेश गरिएको थियो। त्यसपछि सरकारले यो अधिवेशनमा प्रतिस्थापन विधेयक दर्ता गरेको थियो। संसदको पहिलो बैठकमा पेस भएपछि प्रतिस्थापन विधेयक ६० दिनभित्र पारित भई प्रमाणीकरण हुनुपर्ने कानुनी व्यवस्था पालना नहुँदा सरकारले खर्च गर्न नपाउने भएको हो।
‘कर उठाउन विशेष व्यवस्था छ त्यसमा कुनै वाधा छैन,’ अर्थमन्त्री शर्माले प्रतिनिधि सभाबाट बाहिर निस्कँदै भने, ‘तर खर्च गर्न भने प्रतिस्थापन विधेयक पारित नहुँदा केही दिन रोकिने भएको छ। राज्यले खर्च गर्दैन।’
बजेट प्रतिस्थापन विधेयक पारित गराउनका लागि सबैपक्षसँग छलफल चलिरहेको भन्दै उनले सम्भव भए छलफल र वार्ताको प्रयासबाट पारित गराएर यसको निकास दिने बताए। ‘सहमति हुँदा सहमतिअनुसार पारित गर्छौं। नभएमा नियमति प्रक्रिया अनुसार पारित गर्छौ,’ उनले भने, ‘पारित गर्ने केही समय ग्याप रह्यो भने केही समय खर्च नगर्ने पनि हुनसक्छ।’
भोलिबाट कर उठाउने विशेष व्यवस्था भएकाले उठिराख्ने भन्दै उनले खर्च केही दिन रोक्न पनि सकिने बताए। ‘पेस्की खर्च र अध्यादेश जस्ता कुरामा सरकार नजाने उनले स्पष्ट पारे। अध्यादेशबाट ल्याएको बजेट पारित हुन नसकेमा संविधानले पेस्की खर्च गर्ने अधिकार पनि सरकारलाई दिएकाले त्यसतर्फ सोधिएको प्रश्नमा उनले यी दुवै बाटोमा सरकार नजाने बताए। अदालतले विनियोजन विधेयकका लागि अध्यादेश नल्याउन भनेकाले यो बाटोमा सरकार नजाने उनले बताए। उनले सदनको जारी अवरोध खुलाएर प्रक्रिया अन्तर्गत प्रतिस्थापन विधेयक पारित गराएर देशको निकास दिने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।