काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागी नभएको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ। दुई घण्टासम्म छलफल भएपनि प्रमुख प्रतिपक्ष दल नै उपस्थित नभएपछि कुनै निष्कर्षमा नपुगेर बैठक सकिएको हो।
प्रमुख प्रतिपक्ष दल एमालेको उपस्थितिका लागि दलका नेता केपी शर्मा ओलीसँग फोन सम्पर्क नै हुन नसकेको ब्रिफिङ सभामुख अग्नि सापकोटाले गरेका छन्। सर्वदलीय बैठक आव्हानपछि सोमबार बिहान एक घण्टा प्रयास गर्दा पनि फोन सम्पर्क हुन नसकेको सभामुख सापकोटाले जानकारी गराएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्।
उनले भनिन्, ‘ओलीजीको हटलाइनमा उहाँले एक घण्टासम्म सम्पर्क गर्ने प्रयास गर्नुभएछ। स्वीच अफ भएकाले सम्पर्क हुन सकेनछ।’ कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई सम्पर्क गर्दा उपस्थित हुन नसक्ने जानकारी दिएको उनले बताइन्।
पौडेलले थपिन्, ‘पूर्वसभामुख सुवास नेम्वाङले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराउनुभएछ।’ प्रमुख प्रतिपक्ष दल एमालेले तीन दिनदेखि गरिरहेको संसद् अवरुद्धका विषयमा बैठक भएकाले थप छलफल गर्नेगरी नेताहरु छुट्टिएका छन्। आगामी बैठकमा एमालेलाई समेत उपस्थित गराएर निष्कर्षमा पुग्ने सल्लाह भएको पौडेलले जानकारी दिइन्।
उनले भनिन्, ‘सदनको अवरोध खुलाउनका निम्ति बैठक बसेका थियौं। यो प्रमुख प्रतिपक्ष एमालेसँग सम्बन्धित थियो। एमाले नै सहभागी नभएपछि वास्तविक निष्कर्षमा पुग्न सकिएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।