काठमाडौं– गत आर्थिक वर्ष (आव)मा वाणिज्य बैंकहरुको नाफा बढेको छ। कोरोनाका कारण समग्र आर्थिक क्षेत्रमै असर परिरहेको समयमा पनि बैंकहरुको औसत नाफा २० प्रतिशतले बढेको हो। अघिल्लो आव २०७६/७७ मा ५२ अर्ब ८० करोड रुपैयाँ नाफा गरेका वाणिज्य बैंकहरूले गत आव २०७७/७८ भने ६३ अर्ब नाफा कमाएको तथ्यांक सार्वजनिक भएको छ।
सो अवधिमा वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी भने २ दशमलव ४५ प्रतिशतले मात्रै बढेको छ।ब्याजदर सस्तिएका कारण बैंकको खुद ब्याज आम्दानी घटेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाइ छ। उच्च प्रतिस्पर्धाका कारण बैंकहरूको निक्षेप र कर्जाको ब्याजअन्तर (स्प्रेड दर)समेत राष्ट्र बैंकले तोकेभन्दा पनि कम हुँदै आएको उनको दाबी छ।
राष्ट्र बैंकले स्प्रेड दर अधिकतम ४ दशमलव ४ प्रतिशतसम्म राख्न पाउने सुविधा दिए पनि वाणिज्य बैंकको औसत स्प्रेड दर ३ दशमलव ६२ प्रतिशतमात्र छ।
बैंकहरूको सेयर कारोबारबाट भएको आम्दानी बढेको र जोखिमबापतको प्रावधान घटेकाले पनि नाफामा सुधार भएको अध्यक्ष दाहाल बताउँछन्।
गत आवमा अघिल्लो आवको तुलनामा केही बैंकको नाफा बढेको छ भने केहीको घटेको छ। सो अवधिमा बैंकहरूको निक्षेप २१ प्रतिशतले बढेको छ भने कर्जा लगानीमा २८ प्रतिशतको वृद्धि देखिएको छ।
सो अवधिमा बैंकहरूको कुल वितरणयोग्य नाफा ४७ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आवको भन्दा ३५ दशमलव ४१ प्रतिशतले धेरै हो।
वितरणयोग्य नाफाका आधारमा बैंकहरुले औसतमा १४ दशमलव ९० प्रतिशत प्रतिफल दिन सक्ने अवस्था छ। गत आव सबैभन्दा धेरै लाभांश क्षमता नबिल बैंकको देखिएको छ। बैंकले करिब ३० प्रतिशत लाभांश दिन सक्ने देखिन्छ।
नेपाल बैंक, एभरेष्ट बैंकको पनि लाभांश क्षमता २६ देखि २७ प्रतिशतको दरमा छ।
सो अवधिमा बैंकहरूको प्रतिसेयर आम्दानीसमेत केही बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।