काठमाडौं– दुई विभागीय टीम नेपाल पुलिस र त्रिभुवन आर्मी जय ट्रफी एलिट कपको फाइनलमा पुगेका छन्। बागमती र मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिए।
अहिले भर्खरै सकिएको खेलमा बागमतीलाई हराउँदै पुलिस फाइनलमा पुगेको हो। प्रतियोगितामा दुई जित निकाल्ने एक्लो टीम पुलिस बन्यो। त्रिभुवन आर्मीले मधेश प्रदेशविरुद्ध स्पष्ट जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।
बागमतीले दोस्रो इनिङमा पुलिसलाई ११६ रनको मामूली लक्ष्य दिएको थियो। पुलिसले ५ विकेट क्षतिमा लक्ष्य भेट्यो। पुलिसका अमित श्रेष्ठले लगातार अर्धशतक प्रहार गरे। पहिलो इनिङमा ७९ रनको उत्कृष्ट इनिङ खेलेका श्रेष्ठले दोस्रोमा ४४ बलमा ५६ रन बनाए। कुशल भुर्तेलले दोस्रो इनिङमा विष्फोटक सुरुवात गर्दै १९ बलमा ३२ रन जोडेर आउट भए।
बागमतीका सन्दीप लामिछानेले दुई तथा नन्दन यादव, सूर्य तामाङ र प्रतिस जिसीले एक-एक विकेट लिए पनि पुलिसलाई दबाबमा राख्न सकेनन्।
फाइनल खेल तीन दिवसीय हुनेछ। फाइलन खेल वीरगञ्जमा माघ १ देखि ३ गतेसम्म हुनेछ। मधेश प्रदेशविरुद्ध जित निकाल्दा पुलिस आर्मीसँग ड्रमा रोकिएको थियो। आर्मीले दुई खेल ड्र खेल्दा एक खेलमा जित निकाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।