काठमाडौं– मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) आज (बुधबार)देखि निष्काशन भएको छ।
लघुवित्तले जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशनमा ल्याएको हो।
कुल सेयरमध्ये ५ हजार ४६९ कित्ता सेयर कर्मचारीलाई १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने सेयर विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ।
लघुवित्तको आईपीओमा प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। पिछल्लाे समय मागभन्दा धेरै आवेदन पर्ने र गाेलाप्रथामार्फत सेयर बाँडफाँट गरिने भएकाले १० कित्तामात्र आवेदन दिँदा उचित हुने देखिन्छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेब साइट तथा एपमार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने विक्री प्रबन्धकले जनाएको छ।
लघुवित्तको आईपीओमा साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिनेछ। निर्धारित अवधिमा माग अनुसार आवेदन नपरे भदौ ९ गतेसम्म म्याद थप हुने विक्री प्रबन्धकको भनाइ छ।
हाल लघुवित्तको जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ।
आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।
लघुवित्तको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयरएनपी सिंगल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।