काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आइतबार ट्वीटरमा 'नयाँ विचारसहित नयाँ समाजवादी ध्रुवीकरणमा लाग्नुपर्ने' उल्लेख गरे। यसअघि जसपालाई वैकिल्पक शक्ति बनाउने उद्घोष गरेका भट्टराईले आइतबार समाजवादी केन्द्र बनाउने विषय सामाजिक सञ्जालमा सार्वजनिक गरेर अर्को बहस प्रारम्भ गर्न खोजेका छन्।
‘नेकपाका विभिन्न घटकमा रहेका कमरेडहरूसँग आग्रह : मान्छेले मान्छेमाथि गर्ने सबैखाले विभेद र उत्पीडनको अन्त्य गर्ने लक्ष्य स्टालिनदेखि ओलीसम्म आइपुग्दा किन र कसरी उल्टो दिशातिर सोझियो? पुरानै बाटो हिँडेर नयाँ ठाउँमा कसरी पुगिएला?’, भट्टराईले लेखेका छन्, ‘अब नयाँ विचारसहित नयाँ समाजवादी ध्रुवीकरणमा लाग्ने कि?’
भट्टराईले सामाजिक सञ्जालमा सार्वजनिक खपतका लागि मात्रै नभएर समाजवादी केन्द्र बनाउने विषयमा बहस प्रारम्भ गर्न खोजेको जसपाका नेताहरु बताउँछन्। जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्षसमेत मोर्चाबन्दीमा एक ठाउँमा उभिन सक्ने एकथरीले बताउँदै आएका छन्।
तीन शक्तिलाई कम्युनिष्ट केन्द्रभन्दा सामजवादी केन्द्र बनाउने विषयमा जोड दिन भट्टराईले बहस थालेको बताइएको छ। कालान्तरमा माओवादी केन्द्र र जसपा रुपमा एकठाउँमा हुने देखिएकाले समाजवादी केन्द्र बनाउनेमा भट्टराईले बहस थालेको उनीनिकट नेताहरु दाबी गर्छन्।
भट्टराईले तत्कालीन माओवादी छोड्दा २०७२ असोज ९ गते कम्युनिस्ट पार्टी र विचारसमेत छोडेको भन्दै वैकल्पिक शक्ति निर्माणमा लाग्ने उद्घोष गरेका थिए। त्यति बेलादेखिकै त्यो 'वैकल्पिक शक्ति' समाजवादी विचार बोक्ने पार्टी नै भएको भन्दै आएका छन्।
जसपा, माओवादी केन्द्र र एमालेको नेपाल पक्षसँग तत्काल एकता नभएपनि मोर्चाबन्दी भने कायम हुन सक्ने माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादव बताउँछन्। ‘केपी ओलीको प्रतिगमनले कांग्रेससहित अन्य कम्युनिष्ट घटकलाई संयुक्त मोर्चाबन्दी गर्ने अवस्थामा पुर्याएको छ। कांग्रेससँग निश्चित अवधिसम्म मुद्दामा मोर्चाबन्दी हुन सक्छ। माओवादी, जसपा र एमालेको नेपाल पक्षसँग एकता हुनेगरी बहस छलफल हुन सक्छ’, यादवले नेपाल लाइभसँग भने, ‘तर, माओवादी, जसपा, एमालेको नेपाल पक्षबीच तत्काल एकता हुने सम्भावना भने छैन। मोर्चाबन्दी अहिले पनि छ। भोलि पनि कायम हुनेगरी हुनसक्छ।’
पाँच दलीय मोर्चामा सहभागी कम्युनिष्ट घटकहरूबीच वैचारिक बहस र छलफल भने भइरहेको यादवले बताए। यस्तै, माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले कम्युनिष्ट झण्डा र विचार छोडेर समाजवादी केन्द्र बन्न नसक्ने जिकिर गरे। केपी ओलीले यति धेरै प्रतिगमन गर्दापनि कम्युनिष्ट भनेर उनलाई नै जनताले समर्थन गरेको बताउँदै पौडेलले समाजवाद ल्याउन कम्युनिष्ट छोड्न नपर्ने ठोकुवा गरे।
‘चीनले कम्युनिष्ट छोडेर समाजवाद ल्याएको हो र? कम्युनिष्ट भएरै राम्रो गरे हुन्छ। कम्युनिष्ट भनेर जनताले दुई तिहाई दिए। अझै कम्युनिष्टहरु मिल भनेर दबाब दिएकै छन्। कम्युनिष्ट जनाधार छ’, पौडेलले भने, ‘कम्युनिष्ट पार्टी र झण्डा छोडेपछि भयंकर हुने, नभए नहुने भन्ने हुँदैन। नेपालमा भएका कम्युनिष्टहरुले इमान्दार रुपमा कार्यसम्पादन गरेर संविधानमा लेखेको समाजवादमा पुग्न सकिन्छ।’
तर, भट्टराईनिकट जसपा नेता गंगानारायण श्रेष्ठले साम्यवादी विचार बोक्ने कम्युनिष्ट र पुँजीवादी विचार बोक्ने 'डेमोक्रेटिक' पार्टीहरु परीक्षण भइसकेकाले समाजवादी केन्द्र बनाउनतिर लाग्नुपर्नेमा जोड दिए। ‘पुँजीवाद र साम्यवाद संसारभर टेष्टेड हुन्। त्यसको विकल्पमा संसारभरी समाजवादी केन्द्रको सम्भावना बढ्दै गएको छ। समाजवादी केन्द्रको राजनीतिक स्पेस बढ्दै गएको छ’ श्रेष्ठले भने, ‘त्यो सन्दर्भमा हिजोका कम्युनिष्टहरुले बोक्ने साम्यवादी विचार फेजआउट भइसक्यो। बिरालो बाँधेर श्राद्धे गर्ने परम्परा छोड्न पर्छ। आफूले आफूलाई रुपान्तरण गरेर समाजवादी केन्द्र बनाएर आऊ भन्ने अपिल छ।’
समाजवादी केन्द्र बनाउने विषयमा बहस र छलफल पर्याप्त नभई एकतामा जान नसकिने श्रेष्ठले बताए। ‘समाजवादी केन्द्र बनाउने कुरा पहिलादेखि नै भन्दै आएका छौं। केपी ओलीको प्रतिगमनको विरुद्धमा हामी एक ठाउँमा आयौं। त्यसले विस्तारै समाजवादी केन्द्र बनाउनेगरी पार्टी एकतासम्म पुर्याउने सम्भावना छ। आगामी चुनावपछि एकता हुन सक्छ’, श्रेष्ठले भने, ‘त्यसका लागि समाजवादी केन्द्र बनाउने विषयमा छलफल हुनुपर्छ। त्यही भएर डाक्टरसाबले (भट्टराईले) वैचारिक रुपमा बहस होस् भनेर लेख्नु भएको छ।’
अहिले भएका कम्युनिष्ट पार्टीहरू समाजवादी ध्रुवीकरणमा जान तयार भए सबै कम्युनिष्ट एक ठाउँमा आउने सम्भावना रहेको श्रेष्ठ बताउँछन्।
यस्तो छ बाबुरामको राजनीतिक उतारचढाव
– २०३९ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर मोहनविक्रम सिंह नेतृत्वको पार्टीमा सक्रिय।
– २०४८ सालमा मोहनविक्रम सिंह नेतृत्वको मसाल छोडेर एकता केन्द्र मशालमा सहभागी।
– २०५२ फागुन १ गते 'जनयुद्ध'मा सहभागी।
– २०५५ सालमा माओवादीको चौंथो महाधिवेशनमा प्रचण्डसँग अन्तरविरोध सुरु।
– २०६२ जेठमा रुकुमको लाबाङमा बसेको बैठकद्वारा बाबुराममाथि 'कठोर' कारबाही ।
– २०६२ असोजमा बसेको चुनवाङ बैठकले बाबुराममाथिको कारबाही फुकुवा। लगत्तै १२ बुँदे समझदारी हुँदै शान्ति प्रक्रिया सुरु।
– २०६७ सालमा माओवादीको पालुङटार बैठकमा बाबुरामद्वारा शान्ति र संविधान लाइनमा अडान पारित।
– २०६९ सालमा माओवादीको हेटौँडा महाधिवेशनमा उपाध्यक्ष पद त्याग गर्दै केन्द्रीय सदस्यमा मात्र बस्ने उद्घोष।
– २०७० फागुन २५ मा ‘नयाँ शक्तिको खाँचो’ शीर्षकको लामो लेख लेखेर बहस प्रारम्भ।
– २०७२ असोज ३ गते संविधान जारी भएलगत्तै ९ असोजमा एमाओवादी र संसद् सदस्य पद त्याग।
– २०७२ माघ १० गते नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद् घोषणा।
– २०७३ जेठ ३० गते काठमाडौंको दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टी गठनको घोषणा।
– २०७६ वैशाख २३ गते तत्कालीन समाजवादी फोरम र नयाँ शक्तिबीच एकता गरी समाजवादी पार्टी गठन।
– २०७७ वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकता गरी जनता समाजवादी पार्टी गठन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।