काठमाडौं– मैलुङ खोला जलविद्युत् कम्पनीले आज (बिहीवार) देखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ विक्री गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ विक्री गर्न लागेको हो।
सर्वसाधारणका लागि विक्री गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो।
कम्पनीको आईपीओ छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म विक्रीमा रहने विक्री प्रबन्धक बन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ।
आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डि इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा नगरेको वा छिटै पूरा गर्न नसक्ने संकेत गर्दछ।
आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयएवं मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
कम्पनीले रसुवाको डाँडागाउँमा पाँच मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।