काठमाडाैं- नेपालको पुँजीबजार मापक नेप्सेमा आज नयाँ रेकर्ड बनेको छ। दोहोरो अंकले बढ्दा आज नेप्से हालसम्मकै उच्च विन्दुमा पुग्दा रेकर्ड बनेको हो। आज कारोबार रकम भने घटेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १५.३० अंकले बढेर ३०९४.९५ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो। यसअघि मंगलबार नेप्से ३०७९.६६ विन्दुमा उक्लिँदा रेकर्ड बनेको थियो।
नेप्सेमा आज कूल १३ अर्ब २९ करोड १९ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २१९ वटा कम्पनीका दुई करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर एक लाख २८ हजार ७८० पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.०२ अंकले बढेर ५७४.३२ विन्दुमा उक्लिएको छ।
आज तीन वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.०७ प्रतिशतका दरले गुमाएका छन्।
आज युनाइटेड मोदी हाइड्रोपावरको सबैभन्दा धेरै ३८ करोड ६१ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। संख्यात्मक आधारमा नबिल ब्यालेन्स फण्ड-२ सबैभन्दा धेरै १२ लाख ६४ हजार ११० कित्ता र नेसनल हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै तीन हजार ७६४ पटक किनबेच भएका थिए।
आज बैंकिङ, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र म्युच्युअल फण्डबाहेक सबै उपसमूहका परिसूचक बढेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।