काठमाडाैं- सोमबार सामान्य करेक्सन देखिएको पुँजीबजार मापक नेप्से आज पुन: उच्च अंकले बढेको छ। आज कारोबार रकम पनि बढेको छ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९.२३ अंकले बढेर ३०७९.६६ विन्दुमा उक्लिएको छ।
नेप्सेमा आज कूल १५ अर्ब १७ करोड छ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २२५ वटा कम्पनीका तीन करोड २३ लाख ५५ हजार ३६० कित्ता सेयर एक लाख ४१ हजार ६५२ पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.१९ अंकले बढेर ५७४.३१ विन्दुमा उक्लिएको छ।
आज पाँच वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.७७ प्रतिशतका दरले गुमाएका छन्।
आज एनआईसी एसिया बैंकको सबैभन्दा धेरै ४९ करोड १५ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। संख्यात्मक आधारमा लक्ष्मी उन्नति कोष सबैभन्दा धेरै १५ लाख ५८ हजार १४७ कित्ता र अपि पावर कम्पनीको सेयर सबैभन्दा धेरै चार हजार १४६ पटक किनबेच भएका थिए।
आज बैंकिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्स र व्यापारबाहेक सबै उपसमूहका परिसूचक बढेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।