काठमाडौं- प्रभु बैंक लिमिटेडले बसुन्धारास्थित कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटललाई सहयोग गर्न लागेको हो।
आज एक समारोहबीच प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका सञ्चालक समिति अध्यक्ष बुद्धिमान श्रेष्ठले आर्थिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।
प्रभु बैंकबाट उपलब्ध गराइएको आर्थिक सहयोगमा कान्तिपुर डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामग्रीहरु खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाइ भोगिरहेका आर्थिक रूपमा विपन्न बिरामीहरूको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ। यसबाट कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा उपचारका लागि आउने बिरामीहरूले अत्याधुनिक स्वास्थ्य सामग्रीको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्ने बैंकले विश्वास लिएको जनाएको छ।
साथै, बैंकले समाजका लागि उपयोगी कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिँदै जाने जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।