काठमाडौं– हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल)को हकप्रद सेयर आज (मंगलवार) देखि निष्कासन भएको छ।
कम्पनीले एक बराबर एक सेयर खरीद गर्न पाउने गरी हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीले हालको चुक्तापूँजी ११ अर्बको आधारमा १ सय रुपैयाँ अंकित दरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो।
कम्पनीले शतप्रतिशत हकप्रद सेयर प्रयोजनका लागि जेठ २८ गते बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद सेयर खरीदका लागि आवेदन दिन सक्नेछन्। योग्य आवेदकले साउन २५ गतेसम्म आफ्नो हक बमोजिममको सेयर खरीदका लागि आवेदन दिन सक्नेछन्।
यो हकप्रद सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६३ करोड ८९ लाख ९० हजार रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब ५७ करोड ४९ लाख ७८ हजार छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।