काठमाडौं– मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले मंगलवार(आज) देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आईपीओ विक्री खुला गर्ने भएको छ।
यसअघि निषेधाज्ञाका कारण गत वैशाख १४ गते विक्री बन्द गरिएकोमा मंगलवारदेखि पुन: विक्री खुला गरिएको कम्पनीले बताएको छ। कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। सोहीअनुसार पहिलो चरणमा कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित दरको कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
निष्कासन गरिने कुल कित्तामध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ७० प्रतिशत अर्थात् ४२ लाख कित्ता सिन्धुपाल्चोकको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाले आवेदन दिन पाउनेछन्।
आईपीओ साउन १७ गतेसम्म र ढिलोमा साउन ३२ गतेसम्म विक्री हुनेछ। कम्पनीको आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ।
आईपीओ विक्रीका लागि सिन्धुपाल्चोक जिल्लामा ३६ र काठमाडौंमा सात वटा संकलन केन्द्र तोकिएको छ। उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिनेछ।
बाँकी ९० लाख कित्ता भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ। निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
मध्य भोटेकोशी जलविद्युत् कम्पनीले १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ। चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै अर्थात् ३८ प्रतिशत तथा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत शेयर संरचना उक्त कम्पनीमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।