काठमाडाैं- पुँजीबजार मापक परिसूचक नेप्से आज पनि दोहोरो अंकले उकालो लागेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.८० अंकले बढेर २९९४.४२ विन्दुमा उक्लिएको छ।
नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन आइतबार नेप्से ९७.२१ अंकले बढेको थियो। आज दोस्रो कारोबार दिन पनि त्यसले निरन्तरता पाएको हो।
नेप्सेमा आज कूल ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २१९ वटा कम्पनीका तीन करोड ७५ लाख ७१ हजार ८५० कित्ता सेयर एक लाख सात हजार ७९७ पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.०४ अंकले घटेर ५६०.७२ विन्दुमा ओर्लिएको छ।
आज सिनर्जी पावर डेभलपमेण्ट कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। विशाल बजार कम्पनीका लगानीकर्ताले पनि प्रतिकित्ता ९.२० प्रतिशतका दरले कमाएका छन्। नेपाल इन्भेष्टमेन्ट डिबेन्चर-२०८२ का लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.८७ प्रतिशतका दरले गुमाएका छन्।
आज एनआईसी एसिया बैंकका सेयर सबैभन्दा धेरै ३५ करोड ४१ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा एनआईसी एसिया ग्रोथ फण्ड सबैभन्दा धेरै २८ लाख ११ हजार ५०० कित्ता र ग्लोबल आईएमई बैंकका सेयर सबैभन्दा धेरै तीन हजार १७८ पटक किनबेच भएका थिए।
आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स र हाइड्रोपावर बाहेक सबै उपसमूहका परिसूचक बढेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।