काठमाडाैं- नेपाल राष्ट्र बैंकले मोबाइल एप सार्वजनिक गरेको छ। आज आयोजित 'भर्चुअल' कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले 'नेपाल राष्ट्र बैंक' नामको मोबाइल एपको शुभारम्भ गरेकी हुन्।
बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ। मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ।
उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध रहेको जनाएको छ। प्रयोगकर्ताबाट प्राप्त हुने सुझावका आधारमा यसलाई थप परिस्कृत गर्दै लगिने जनाइएको छ।
हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ। उक्त एपलाई क्रमिक रूपमा आईओएस अपरेटिङ सिस्टममासमेत विस्तार गरिने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।